arin enterprises

११०औं वीपी जयन्ती मनाईंदै

SamacharDesk | २०८० भाद्र २४, आइतबार

११० औं बीपी जयन्ती आज विविध कार्यक्रम गरी मनाईंदैछ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसले आयोजना गर्न लागेको ‘बिपी साहित्य महोत्सव’ आजबाट सुरु हुँदैछ ।

पार्टी मुख्यालय सानेपामा आजदेखि तिन दिनसम्म बीपी साहित्य महोत्सव आयोजना हुँदैछ । ललितपुरको सानेपास्थित बिपी स्मृति भवनमा तीनदिने महोत्सवको पहिलो दिन बिहान १० बजे प्रजातन्त्रका लागि भएको हवाईजहाज अपहरणको वृत्तचित्र देखाइने छ ।

११ बजे पार्टी सभापति शेरबहादुर देउवाले महोत्सवको उद्घाटन गर्नुहुने महोत्सव तयारी समितिले जानकारी दिएको छ ।

करिब ४० मिनेटको उद्घाटन सत्रपछि बिपीको साहित्य सिर्जना र जीवन दर्शन, बिपीको दृष्टिमा बिपी, बिपीको आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण र नेपालको मातृभाषा साहित्य विषयमा विभिन्न वक्ताको संभाषण रहने पार्टीको सूचना तथा सञ्चार विभागले जनाएको छ ।

५:३० बजेपछि भने कविता साँझको आयोजना हुने महोत्सव तयारी समितिले जनाएको छ । नेपालको राजनीतिक व्यवस्था परिवर्तनमा मात्रै नभएर साहित्य जगतमा विश्वेश्वर प्रसाद कोइरालाको योगदान स्मरण गराउन यो महोत्सव आयोजना गरिएको महोत्सव आयोजना मुल समारोह समितिका संयोजक एवं कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले जनाकारी दिनुभयो ।

नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गर्नुभएका बीपीको विक्रम संवत १९७१ साल भदौ २४ गते जन्म भएको थियो ।

जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले लगाएका लुगा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।

भारत निर्वासनकै क्रममा विसं २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । २००७ सालको क्रान्ति सफल भएपछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बन्नुभएको थियो ।

विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि उहाँ प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो । विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरिएपछि जेल पर्नुभएका कोइराला २०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएको थियो ।

त्यसपछि पनि उहाँ आठ वर्षसम्म भारतमा निर्वासनमा बस्नुभयो । २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर उहाँ स्वदेश फर्कनु भएको थियो ।

Categorized in राष्ट्रिय