arin enterprises

चीनमा देखियो ब्यूबनिक प्लेग

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ २४, बुधबार

चीनको स्वायत्त क्षेत्र भित्री मंगोलियास्थित बायान्नुरमा एक व्यक्तिमा ब्यूबनिक प्लेग रोग देखिएको छ । स्थानीय गोठालो व्यक्तिमा ब्यूबनिक प्लेगको संक्रमण पुष्टि भएको बताइएको छ ।

प्लेग देखिएका ती व्यक्तिलाई क्वारेन्टीनमा राखिएको र उनको स्थिति भने स्थिर रहेको बीबीसीले जनाएको छ ।

बायान्नुरस्थित एउटा अस्पतालमा गएका ती व्यक्तिमा शनिवार प्लेग भएको आशंका गरिएको थियो । पछि परिक्षण गरिँदा उनमा ब्यूबनिक प्लेगको संक्रमण भएको देखिएको थियो ।

उनलाई कसरी संक्रमण भयो भन्ने स्पष्ट भइनसकेको बीबीसीले उल्लेख गरेको छ ।

यसैबीच कसैलाई संक्रमणको आशंका भएमा स्वास्थकर्मीलाई सूचित गर्न चीनिया सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ ।

ब्यूबनिक प्लेग देखिएपछि सरकारी निकायहरुले सावधानीका उपायहरू अवलम्बन गर्दै चारमध्ये तेस्रो तहको चेतावनी जारी गरेका छन् । तेस्रो तहको चेतावनी जारी गर्दै प्लेग सार्न सक्ने जीवजन्तुको सिकार गर्न र तिनको मासु खान रोक लगाएको छ ।

 

प्लेगको ईतिहास –

विश्वको विभिन्न देशहरुमा विभिन्न समयमा प्लेग देखा परिरहने गरको छ । 

यो रोगको पहिलो महामारी छैठौं शताब्दीमा बाइजानटाइन भनिने पूर्वी रोमन साम्राज्यमा सम्राट जस्टिनियन प्रथमको शासनकालमा भएको थियो । 

दोस्रो महामारी चौधौं शताब्दीमा एसियाबाट सुरु भएर मध्यकालीन युरोपभरि फैलिएको थियो, जसलाई ‘ब्ल्याक डेथ’ का रूपमा चिनिन्छ । 

चौधौं शताब्दीमा यहि रोगका कारण अफ्रिका, युरोप र एशियाको विभिन्न देशमा लगभग पाँच करोड मानिसको मृत्यु भएको थियो । उन्नाइसौँ शताब्दीमा चीन र भारतमा तेस्रो महामारी फैलिँदा १ करोड २० लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

सन् १६६५ मा लन्डनमा प्लेग महामारीका कारण त्यहाँका २० प्रतिशत मानिसले ज्यान गुमाएका थिए । सन् २०१७ मा म्याडग्यासकरमा ३०० जनाभन्दा बढी मानिसमा प्लेग भएको थियो ।

त्यस्तै गत वर्ष मे महिनामा पनि मंगोलियामा दुई जना व्यक्तिको प्लेगकै कारण मृत्यु भएको थियो । उनीहरुलाई मार्मट नामक जंगली जनावरको काँचो मासु खाएपछि प्लेग भएको थियो । 

 

प्लेगका लक्षणहरु–

प्लेग रोग भएपछि प्रारम्भिक चरणमा भने यो रोगको लक्षण चिन्न गार्हो हुन्छ । 

यसले ३ दिनदेखि ७ दिनसम्म रुघाखोकी जस्तो समस्या मात्र देखिने गर्छ । केहि दिनपछि शरिरको लिम्फ नोडहरु सुन्निने गर्छ र जीउ दुख्न थाल्छ ।

त्यसपछि शरिरमा सानो केराउको दानाजात्रा गिर्खाहरु देखा पर्दै जान्छ र विस्तारै ती गिर्खाहरु स्याउ जत्रै ठूलो हुँदै छालाको पत्र फुटेएर उछिट्टिएला झैं हुन्छ । 

शरीरभरी रोग फैलिएपछि बिरामीहरुले रगत बान्ता गर्न थाल्छन् ।

 

उपचार सम्भव छ –

बीसौं शताब्दीमा आइपुगेपछि वैज्ञानिकहरुले साना स्तनधारी जनावर र उपियाँमा पाइने ‘यर्सिनिया पेस्टिस’ नामको ब्याक्टेरियाबाट प्लेग रोग फैलिएको भनेर पत्ता लगाएका थिए । 

यी ब्याक्टेरिया विभिन्न थरीका छन् । कुनै फोक्सोको संक्रमणसँग सम्बन्धित थियो भने कुनैले शरीरका विभिन्न भागमा गाँठागुँठी र ठूल्ठूला घाउ बनाउँथ्यो ।

तर हाल स्ट्रेप्टोमाइसिन, जेन्टामिसिन, डोसीसाइक्लन जस्ता एन्टीबायोटिकको प्रयोगबाट यसको उपचार भने सम्भव रहेको छ ।

विशेषज्ञका अनुशार चौधौँ शताब्दीको तुलनामा अहिले यो रोग कसरी सर्छ भन्ने पत्ता लागेको छ । यसको रोकथामका लागि प्रभावकारी एन्टीबायोटिक प्रयोग गरेर उपचार गर्न सकिने विज्ञहरुको भनाई छ ।

यद्यपि ब्यूबनिक प्लेग महामारीको रुपमा फैलिने सम्भावना न्यून रहेको बीबीसीले उल्लेख गरेको छ ।

Categorized in अन्तर्राष्ट्रिय