आज २५६७औं बुद्ध जयन्ती
SamacharDesk | २०८० बैशाख २२, शुक्रबार

आज २५६७औँ बुद्धजयन्ती । नेपालसहित विश्वभर आज बुद्ध जयन्ती भब्यताका साथ मनाइँदैछ ।
हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भगवान गौतम वुद्धको जन्म जयन्ती मनाउने गरिन्छ । आजभन्दा २५ सय ६७ वर्ष अघि कपिलवस्तुको तिलौराकोटमा राजा शुद्धोधन र आमा मायादेवीको कोखबाट जन्मिएका राजकुमार सिद्धार्थले कठोर तपस्यापपछि बुद्धत्व प्राप्त गर्नुभएको थियो ।
वैशाख पूर्णिमा गौतम बुद्धको जीवनका त्रि–संयोग पनि हो । सिद्धार्थ गौतमको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई बुद्धका त्रिसंयोगको रुपमा मनाइन्छ ।
यस अवसरमा गुम्बा, चैत्य, विहार, मठलगायतका पवित्र स्थानमा पूजा पाठ गर्ने गरिन्छ ।
काठमाडौंको स्वयंभुमा आज दशनार्थीहरुको भीड लागेको छ । स्वम्भूमा भगवान बुद्धको अस्तु समेत सर्वसाधारणलाई प्रदर्शन गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले बुद्ध जन्मस्थल लुम्बिनीको सम्भावना धेरै रहेकोले त्यसलाई थप उपयोग गर्नुपर्ने बताउनुभएको छ । उहाँले लुम्बिनीमा रहेका सम्भावनाहरूलाई थप उपयोग गर्दै अगाडि जाने प्रतिवद्धता पनि जनाउनुभयो ।
उहाँले सरकार बृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेकोले लुम्बिनीसँगै कपिलवस्तु, देव दह, रामग्रामलाई समेटेर बृहत्तर लुम्बिनीको रूपमा विकास गरिने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले क्रान्ति र शान्ति एक अर्काका पूरक भएको रहेको भन्दै उक्त विषयलाई बुझ्ने र ग्रहण गर्नेमा एकरूपता हुन नसकेको बताउनुभयो ।
नेपालको भूमिमा जन्मिएका शान्तिका अग्रदूत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृह त्याग गरी कठोर भन्दै परिश्रमबाट बोधी ज्ञान प्राप्त गरेकोले आज पनि उत्तिकै महत्वपूर्ण रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।
Categorized in राष्ट्रिय