फोहर व्यवस्थापनमा लापवाही गर्दा बुद्धमाई अस्पताललाई १ लाख रुपैयाँ जरिवाना
SamacharDesk – बिराज | २०८१ कार्तिक २, शुक्रबार

फोहर व्यवस्थापनमा लापवाही गरेको भन्दै टेकुस्थित बुद्धमाई अस्पताललाई १ लाख रुपैयाँ जरिवाना तिराइएको छ ।
चौथो पटकसम्म अनुगमन गर्दा पनि अवस्थामा सुधार नभएको मात्र नभई सुधार गर्ने प्रयाससम्म नभएको देखिएको भन्दै काठमाडौं महानगरपालिकाले बुद्धमाई अस्पताललाई जरिवाना तिराएको हो ।
तीन पटकसम्मको अनुगमन र चेतावनी पछि अस्पतालमा स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापनको अवस्था बुझ्न कामपाको अनुगमन टोली अस्पताल पुग्दा जम्मा गरेको फोहर खाली देखिएको र फोहर थुपारिएको कोठामा वाफ बाहिर उडिरहेको अटोक्लेभ राखिएको अनुगमन टोलीले बताएको छ ।
अटोक्लेभभित्र निर्मलीकरणका लागि राखिएका बस्तुमा ताजा अवस्था रङ्गमाभन्दा कुनै परिवर्तन नभएको पनि टोलीको भनाई छ ।
यस अघि थुपारिएको फोहरबारे बुझ्दा अस्पतालका प्रमुख प्रशासकिय अधिकृत राजेश तण्डुकारले गलत सूचना दिई भ्रमित गर्न खोजेको अनुगमन टोलीले दावी गरेको छ ।
प्रमुख प्रशासकिय अधिकृत तण्डुकारले अटोक्लेभमा फोहर सबै निर्मलीकरण गरेर महानगरपालिकाको गाडीमा पठाएको बताउएको र फोहर संकलन गर्ने सवारी साधनका चालकलाई बोलाउँदा फोहर कवाडीले लाने गरेको भनी बोली फेरेको टोलीको भनाई छ ।
त्यसपछि टोलीले तण्डुकारलाई काठमाडौँ प्लाजास्थित कामपा वातावरण व्यवस्थापन विभागमा बोलाएर अस्पतालजन्य फोहर व्यवस्थापन नगर्दा हुने दण्ड जरिवानाका विषयमा भएको कानुनी व्यवस्था बताउँदै जरिवाना तोकेको हो ।
‘पहिला पनि १५ हजार तिरेको हो । तोकेपछि तिर्नु पर्ने भो’ अधिकृत तण्डुकारले भने ।
गत बैशाख १७ गते महानगरपालिकाबाट सामान्य फोहर संकलन गर्न गएको सवारी साधनमा संक्रमित फोहर मिसाएको देखेपछि महानगरले उक्त अस्पताललाई फोहर संकलन रोकेर १५ हजार रुपैयाँ जरिवाना तिराएको थियो ।
यस अघि पनि हानीकारक फोहर व्यवस्थापनको विषयमा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत तण्डुकारले गलत जानकारी दिएको अनुगमन टोलीको भनाई छ ।
अधिकृत तण्डुकारले प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडेल अस्पतालसँग सम्झौता गरेर व्यवस्थापनका लागि त्यतै पठाउने गरेको बताएकोमा सोधपुछ गरी हेर्दा उक्त सूचना गलत देखिएको वातावरण निरीक्षक सृष्टि श्रेष्ठले बताइन् ।
कामपाले उक्त अस्पतालमा यस अघि पनि तीन पटक अनुगमन गरिसकेको छ । कामपाले उक्त अस्पतालमा पहिलो पटक २०८० फागुन ११ गते र दोश्रो पटक चैत्र ७ गते अनुगमन गरेको थियो । त्यसैगरी भदौ २२ गते अस्पतालमा तेस्रो पटक अनुगमन भएको थियो ।
पहिलो पटकको अनुगमन पछि अस्पतालमा नर्सिङ् स्टेशनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षहरुमा फोहर हाल्ने बाल्टिन नभएको आदि जस्ता समस्या देखिएको थियो । अनुगमन टोलीले रङ्ग संकेतसहितको बाल्टिनहरु फोहर उत्पादन हुने ठाउँमा राख्न अनुरोध पनि गरेको थियो ।
तेश्रो पटकको अनुगमनको क्रममा भएभरको फोहर एकै ठाउँमा जम्मा गरिएको र अटोक्लेभ मेसिन नभएको समस्या देखिएको थियो । त्यो बेलामा अनुगमन टोलीले, हानीकारक फोहर निर्मलीकरण गरेर सामान्य बनाउन सुधारको मौका दिएर फर्किएको थियो ।
यस अघि चैत ६ गते महानगरपालिकाले स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापनमा कमजोरी भएका अस्पतालका कर्मचारीका लागि तालिम कार्यक्रमको समेत आयोजना गरेको थियो, जसमा बुद्धमाईका प्रमुख प्रशासकीय अधिकृत राजेश तण्डुकार पनि सहभागी भएका थिए ।
Categorized in समाज