arin enterprises

महामारीकै बीच जर्मनीको बुण्डेश लिगा पुनः सुरु

SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ ४, आइतबार

जर्मन लिग बुण्डेशलिगा शनिबारदेखि फेरि शुरु भएको छ । महामारीकै बीच दर्शकविहिन रङ्गशालामा खेल खेलाउँदै लिग शुरु गरिएको हो ।

शनिबारबाट सुचारु भएको लिगमा बोरुसिया डर्टमण्डले घरेलु मैदानमा साल्कालाई ४–० ले पराजित गर्यो ।

महामारीकै दौरान खेलाउन लागिएको खेलका लागि सबैले सावधानी अपनाएको मैदानमा देखिन्थ्यो । 

डर्टमण्डको घरेलु रङ्गशाला सिग्नल इडुना पार्कमा दुवै टिमका खेलाडिहरु आए तर विगतमा जस्तो कसैले हात भने मिलाएनन् ।

बेन्चमा बसेका खेलाडीको साथै प्रशिक्षकले मास्क लगाएका थिए ।

दर्शकले खचाखच भरिने स्ट्यान्ड पुरै खालि नै थियो ।

बोरुसिया डर्टमण्डका लागि पहिलो गोल एर्लिन हालान्डले गरे । अरुबेला गोलसँगै ताली, हुटिङ सुनिने मैदान यस पालि भने खेलाडिहरुकै खुशियाली बाहेक शुन्य नै थियो । 

४५औं मिनेटमा राफेल गुरेइरोले टिमको लागि दोश्रो र व्यक्तिगत पहिलो गोल गरे । 

४८ औं मिनेटमा थोर्गन हाजार्डको गोलबाट डर्टमण्डको अग्रता ३–० म पुग्यो । 

६३औं मिनेटमा फेरी गुरेइरोले व्यक्तिगत दोस्रो र टिमको लागि चौथो गोल गरेर खेललाई ४–० मा पुर्याए ।

खेल सकिएपछि डर्टमण्डका खेलाडीले स्ट्याण्डतिर हेर्दै जीतको उत्सव त मनाए तर त्यहाँ खेलाडिको खुसियालीलाई साथ दिने दर्शक कोही थिएनन् ।

जितपछि डर्टमण्डले २६ खेलबाट ५४ अंक जोड्दै शीर्ष स्थानको वायर्न म्युनिखसँग दूरी १ अङ्कमा झारेको छ । एक खेल कम खेलेको वायर्नको ५५ अंक छ । 

वायर्नले आइतबार युनियन बर्लिनसंग खेल्दैछ ।

तेस्रो स्थानको आरबी लेइपजिग भने फ्राएवर्गसंग १–१ को बराबरीमा रोकियो । बराबरीपछि २६ खेलबाट लेइपजिगको ५१ अंक छ ।

अन्य खेलमा हेर्थ बर्लिनले होफेनहेइमलाई ३÷० ले र वल्फ्सवर्गले अग्सबर्गलाई २÷१ ले पराजित गरेको छ । 

फर्चुना डुसेलडोर्फ र एफसी पाडेनबवर्नले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

Categorized in स्पाेर्ट्स