arin enterprises

साना व्यापारीहरु “गरि खान देउ” भन्दै विरोधमा

SamacharDesk – समाचारडेस्क | २०८० जेठ २२, सोमबार

महानगरपालिकामा नयाँ नेतृत्व आएपछि काठमाडौं महानगरमा धेरै राम्रा कामहरु हुन थालेका छन् जस्तै अवैध संरचना हटाउने, पार्किङको व्यवस्थापन कार्य, फुटपाट हटाउने कार्य तथा हालसालै अस्पतालहरुमा विपन्नलाई प्राथमिकता दिनुपर्ने नियम जस्ता राम्रा कामहरु भइरहेका छन् ।

जुन कामले महानगर तथा मेयर बालेन शाहले वाहवाही पाइरहेका छन् । त्यस्तै फोहोर व्यवस्थापन अन्तर्गत कुहिने र नकुहिने फोहोर छुट्याउने तथा टुकुचा खोलाको सम्बन्धमा भने महानगर चुकेको देखिन्छ ।

यसरी महानगरको नजरमा राम्रो काम गरेता पनि पार्किङको सहज व्यवस्थापन नहुँदा आफ्नो पुख्र्याैली सम्पत्ती नै लगानी गरेर व्यापार व्यवसायहरु गर्नेहरु भने मारमा परेका छन् ।

उसो  आर्थिक मन्दीका कारण पछिल्लो समय व्यापारिक केन्द्रका सटर, गोदाम तथा घरहरु व्यापार नभएका कारण खाली हुन थालेका छन् भने महानगरपालिकाले सहज तथा उचित स्थानमा पार्किङको व्यवस्थापन नगरिंदिदा व्यापारीहरु झन् मारमा परेका छन् ।

आफ्नो जीविकोपार्जनको रुपमा रहेको व्यापार व्यवसाय नै धरापमा पर्न थालेपछि काठमाडौं कालिमाटीका व्यापारीहरु व्यवसाय बचाउन एकत्रित भएका छन् र उनीहरु नो पार्किङको विरोधमै उत्रिएका छन् ।

उनीहरुले “महानगर र ट्राफिक ज्यादती बन्द गर”, “विकल्प सहितको पार्किङको व्यवस्था गर”, “गरि खान देउ” भन्दै संगठित रुपमा विरोध प्रर्दशन गर्दै कालिमाटी, बागबजार, दरबारमार्ग न्यूरोडका चोक चोकमा ठूलठूलो ब्यानरहरु नै टाँगेका छन् ।

दिनप्रतिदिनको बजार भाऊमा चर्काे मूल्यवृद्धि तथा पसलको भाडामा वृद्धिले गर्दा पसल चलाउनै मुश्किल भइरहेको बेला पार्किङको व्यवस्थापन आफ्नो व्यवसाय अनुकूल नहुँदा भाडा तिर्न, बालबच्चालाई पढाउन र खुवाएनै गाह्रो हुँदै आएको व्यापारीहरु बताउँछन् ।

यस सम्बन्धमा विगत १५ वर्षदेखि फेन्सी पसल गर्दै आएका व्यापारी भुवन श्रेष्ठका अनुसार एक त कोरोना कालदेखि नै व्यापार ठप्प हुन थालेको थियो । जसोतसो अहिले विस्तारै व्यापारमा केही सुधार भइरहेको बेला फेरि यो पार्किङको समस्याले पसल खोले पनि उस्तै नखोले पनि उस्तै भएको म मात्र होइन तमाम् व्यापारीहरुको हालत उस्तै छ ।

“पहिला यहाँ एक लाइनमा भए पनि पार्किङ गर्न दिन्थ्यो यसले ट्राफिक व्यवस्थापनमा कुनै अवरोध पनि भएको थिएन । तर एकाएक यो एक लाइनमा पनि पार्किङ गर्न नदिंदा यस क्षेत्रका सबै व्यापारीहरुलाई बोनी गर्न समेत धौ धौ भएको छ, मेरोमा आउने ग्राहकहरु पार्किङको समस्याले गर्दा नै अन्यत्रै गएको छ”, ट्राफिकहरुले पनि हैरान गर्छ, दुई मिनेट मात्र मोटरसाइकल राख्दा पनि सिटी बजाइहाल्छ, चित काट्न थालिहाल्छ,” उहाँ बताउनुहुन्छ ।

विगतमा आइल्याण्डको रुपमा रहेको र हाल खाली भएको उक्त स्थान उपत्यका ट्राफिक, वडा कार्यालयको रोहवरमा पार्किङ राखे पनि सवारी आवागमनमा कुनै असर नपर्ने भनी पार्किङको लागि स्वीकृति दिएको थियो । तर हाल आएर महानगरले पार्किङ निषेध गरिदिंदा आफ्नो व्यापार व्यवसाय नै चौपट भएर सटरको भाडा तिर्न पनि मुश्किल भइरहेको उहाँ बताउनुहुन्छ ।

त्यस्तै दैनिक सामग्री होलसेल गर्दै आउनु भएका विनोद श्रेष्ठको पनि दुखेसो उस्तै छ । “मेरो होलसेल पसलमा एक/दुई बाकस सामानहरु लिन आउँछ, ती खुद्रा व्यापारीहरु मोटरसाइकलबाट बोक्ने हिसाबले सामानहरु लिन आउँछ ।

तर मेरो पसलमा सामान किन्ने समयसम्मको लागि पनि मेरो पसल अगाडि पार्क गर्न दिंदैन । यसो भएपछि हामीले कसरी व्यापार व्यवसाय गर्ने ल तपाई आफै भन्नुस् ?” उहाँ प्रश्न गर्नुुहुन्छ, “अब ग्राहकहरुलाई त पार्क गर्न दिएन दिएन, हामीलाई आफ्नो सामान झार्न समेत दिंदैन’ ।

केही मिनेटको लागि पनि गाडी पार्क गर्न नदिएपछि गाडीलाई अलि टाढै पार्क गरेर भरियालाई सामान बोकाएर ल्याउनुपर्ने अवस्था रहेको उहाँ बताउनु हुन्छ । जसले गर्दा आफूले ढुवानीको थप रकम तिर्नुपर्ने दुखेसो पोख्नु हुन्छ।

तर कालिमाटीकै एक व्यापारीको भने फरक धारणा रहेको छ । उहाँका अनुसार, “महानगरले पार्किङ खुल्ला गरेको त राम्रै काम हो, तर यसले सम्पूर्ण कालिमाटीका व्यापारीहरुलाई प्रत्यक्ष असर त परेकै छ ।

महानगरले ट्राफिक व्यवस्थापनको साथसाथै व्यापारीहरुको व्यापार व्यवसाय उठिबास नहुने तरिकाले विकल्पसहितको पार्किङको व्यवस्थापन गरिदिनुपर्छ ।” उहाँ भन्नुहुन्छ, “यस क्षेत्रमा स–शुल्क पार्किङ भयो भने पार्किङको व्यवस्थापन हुने देखिन्छ ।”

उक्त स्थानमा पहिला निःशुल्क पार्किङ हुँदा दिनभर निर्वाध रुपमा पार्किङमै राख्दै आएको उनले बताए । जसले गर्दा आ–आफ्नो पसलमा आउने ग्राहकहरुले सवारी साधन पार्क गर्न नपाएपछि अन्तै जाने गरेको उहाँ बताउनुहुन्छ ।

“सशुल्क पार्किङ हुँदा मोटरसाइकलहरु पनि अव्यवस्थित रुपमा पार्क नहुने भयो, सुरक्षा पनि हुने भयो र आफ्नो किनमेलको समयसम्म मात्र पार्क गर्ने भएपछि पार्किङ स्थल होल्ड पनि भएन र यातायातमा पनि सहज हुने भयो ।” उहाँ बताउनुहुन्छ,“अझ आफ्नो पसलमा आउने ग्राहकहरुको पार्किङ शुल्क पसल धनीले नै तिरिदियो भने त ग्राहकहरु अन्यत्रै जानै कुरै भएन” ।

कालिमालिका व्यापारीहरुले यसअघि २०६७/७/१७ गते भ्याली ट्राफिक कार्यालय, कामपा वडा १३ का जनप्रतिनिधिहरु, कालिमाटी ट्राफिक कार्यालयका प्रमुख, कालिमाटी फ्रेण्डशिप क्लका पदाधिकारीहरु र स्थानीय व्यक्तिहरुको उपस्थितिमा एक छलफल गरी कालिमाटी चोकमा व्यवस्थित पार्किङ गर्ने सहमति भएको देखिन्छ ।

सहमति अनुसार हाल चित्तधर शालिको उत्तरतर्फ अवस्थित पाँच वटा ट्याक्सीको पश्चिमतर्फ मालि आयल स्टोरतर्फ एक लाइन मोटरसाइकल पार्किङ गर्ने व्यवस्थापन गर्ने । उक्त ट्याक्सी स्टाण्डको पूर्व (टंकेश्वर जानेतिर)मा जेब्रा क्रसिङ भएको र सो जेब्रा क्रसिङको पूर्व दिशातर्फ एक लाइन मोटरसाइकल पार्किङको व्यवस्था गर्ने ।

चित्तधर शालिकको पूर्व (शाकिको पछाडि) तर्फ एक लाइन मोटरसाइकल पार्किङको व्यवस्था गर्ने सहमति भएको देखिन्छ । हाल आएर महानगरले उक्त सहमतिलाई बेवास्ता गर्दै व्यापारीहरु मारमा पर्ने गरी पार्किङ निषेध गरिएको छ ।

Categorized in राष्ट्रिय