नेपाली संस्कृतिमा केक
SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण २३, बुधबार

हुन त नेपाली परिकार होइन, तैपनि कुनै पनि महोत्सव, पर्व या भनौं कुनै खुशीयाली मनाउन केक अनिवार्य जस्तै भइसकेको छ । जनमानसमा केकले आफ्नो छुट्टै छाप बनाइसकेको छ । बालबालिकादेखि बृद्धसम्मको जन्मदिनमा केक काट्दै खाइरहेको तस्बिर सामाजिक संजालमा छ्यापछ्याप्ति देख्न सकिन्छ ।
संस्थाको वार्षिकोत्सव, विवाह, एनिभर्सरीमा पनि केक विना नहुने भइसक्यो । आजकाल त आमा–बुबाको मुख हेर्ने दिन, गुरु पूर्णिमा र भाईटिकाको दिन केक लिनको लागि लामो लाइन नै बस्नुपर्ने जस्तो भइसक्यो ।
त्यस्तै कोही विदेश जान लाग्दा वा विदेशवाट फर्कँदा सबभन्दा पहिला केक नै काटिन्छ । अझ बच्चाहरुको लागि त केक भनेकै जन्मदिनको पर्यायवाची शब्द नै बनेको छ । उनीहरुको लागि जन्मदिन भनेकै केक काट्नको लागि जस्तो भइसक्यो ।
विगतका केहि बर्ष अघिसम्म केक भनेको के हो थाहा नभएका बुढापाकाहरु समेत अचेल जन्मदिनमा केक काट्न जोड दिन्छन् ।
काठमाडौं दलाछि निवासी सरोज राजोपाध्याय बर्षमा केकको लागि मात्रै ६/७ हजार खर्च गर्ने गरेको बताउँछन् । ‘जन्मदिन गर्दा केक काटेपछि मात्र बच्चाहरु रमाउने गर्छन् । उनीहरु रमाएकै हेर्न हामीले केक काट्ने गरेका छौँ’ राजोपाध्यायले भने ।
ललितपुर धोवीघाट निवासी प्रमेश कार्की केक काटेपछि मात्र जन्मदिन र कुनै उत्सव मनाएको जस्तो हुने भएकोले केक काट्ने गरेको बताउँछन् । जन्मदिनको अवसरमा बर्षमा ५–६ वटा केक काट्ने गरेको उनको भनाई छ ।
‘पहिले बर्षमा ९ वटा जति केक काट्थ्यौं तर अहिले बर्षमा ५/६ वटा जति मात्र हुन्छ । केक काटेपछि मात्र उत्सव मनाए जस्तो भाव आउँछ’ कार्कीले बताए । कुनै कारणवश यस्ता अवसरमा केक काटिएन भने रमाइलो नै नहुने उनको अनुभव छ ।
नेपालमा मात्र नभई सम्भवतः संसारभरी नै केहि उत्सव मनाउनु परे वा केहि चिजको सुरुवात गर्नुपरे केक नै काटेर गर्ने गरिन्छ ।
केकको इतिहास ?
केक शब्द भाइकिंग मूलको नोर्स शब्द “काका” बाट आएको हो । केकको प्रचलन प्राचिनकाल देखि नै रहेको देखिन्छ ।
प्राचीन इजिप्ट र ग्रीस जस्ता सभ्यताहरूमा पिठो, मह र फलफूल जस्ता साधारण सामग्रीहरू मिसाएर केक जस्तो परिकार बनाउने अवधारणा प्रचलित थियो । प्राचीन इजिप्टका केकहरु रोटी जस्तो देखिन्थे, जसमा अहिले क्रिम डले जस्तै मह डलेर मिठास दिइन्थ्यो ।
त्यसपछि प्राचिन ग्रीसवाट चिज केक र रोमबाट किसमिस, नट्स व अन्य फलहरु मिसाएर बनाइएको फ्रुटकेकको विकास भयो ।
१७औं शताब्दीमा मध्य युरोपमा विभिन्न प्रकारका केकहरु बन्न थाल्यो । युरोपलाई आधुनिक केकको आविष्कारको श्रेय दिइएको छ । जुन गोलो र त्यसको माथि विभिन्न किसिमको टपिन्ंसहरु हुने गथ्र्यो ।
१८औं शताब्दीमा जर्मनीवाट केकमा मैनबत्ती हालेर जन्मदिन मनाउन सुरु भयो । त्यसवखत बच्चाको बर्ष अनुसारको संख्यामा मैनबत्ती र उसको दीर्घायूको कामना गर्दै छुट्टै एउटा मैनवत्ती दिनभरी बालिन्थ्यो ।
अन्तमा, केक खानु अघि बच्चाले आफ्नो इच्छा जाहेर गरी मैनबत्तीहरु निभाइ केक काटिन्थ्यो । त्यसबखत निभेको मैनवत्तीको धुवाँले आफ्नो इच्छालाई स्वर्ग पु¥याईदिने र इच्छा पूरा हुने विश्वास गरिन्थ्यो ।
नेपालमा केकको सुरुवात
नेपालमा विभिन्न पर्व वा उत्सवमा केक काट्ने चलन नेपालमा कहिलेबाट सुरु भयो भन्ने यकिनका साथ भन्न सकिने अवस्था छैन । यद्यपि यो पश्चिमा देशहरुबाट नेपालमा भित्रिएको हो भनेर प्राय सबैलाई थाहा नै छ ।
यसले संस्कृति अहिले नेपाली संस्कृतिमा एउटा अभिन्न अंगकै रुपमा ठाउँ बनाइसकेको छ भन्दा फरक नपर्ला । शहरदेखि गाउँका कुनाकाप्चासम्म केक काट्ने संस्कृति फेसनका रुपमा अभ्यास भइरहेको पाइन्छ । कुनै पनि उत्सव मनाउँदा नभई नहुने परिकारको रुपमा केक जोड्न पुगेको छ ।
केक काट्ने अभ्यास कोहीले रहरले गरिरहेका छन् भने कोहीले बच्चाहरुको करले । बेकरी पसलहरुले अनलाइन अर्डर लिएर घरघरै केक डेलिभरी गर्न थालेपछि त यसको खपत झनझनै बढ्दै गएको छ ।
धेरैलाई असहज लागे पनि यो अभ्यास दिनानुदिन नेपाली समाजमा बढिरहेको छ ।
केकले नेपाली संस्कृतिमा कसरी स्थान बनायो ?
विगत ३०/३५ बर्ष अघिबाट नेपालमा केकको चलन अलि व्यापक रुपमै सुरु भएको देखिन्छ । पहिले पहिले त जन्मदिन र विवाहमा मात्र केक काट्ने चलन थियो । तर अहिले भने नेपाली समाजको चाडपर्व एवं सामाजिक अवसरहरुमा पनि केकले एउटा अनिवार्य परिकारको रुपमा स्थान पाउन थालेको छ ।
आमा र बुबाको मुख हेर्ने दिन, बेबी सावर, भ्यालेनटाइन डे आदि अवसरहरूमा पनि हिजोआज निकै झकिझकाउका साथ सजाइएको केक काट्ने चलन व्यापक चलेको छ ।
नेवार समाजमा विवाहमा सुपारी लग्दा लाखामरि, ऐंथामरि, कल्यामरि जस्ता परम्परागत वा भनौं यहिँको मौलिक परिकार भन्दा पनि केककै चिन्ता हुन्छ । केक एउटा भने बरु राम्रै पैसा खर्च होस्, हेर्दै आकर्षक बडेमानकै चाहिन्छ ।
यहि प्रसङ्गमा एउटा सन्दर्भ कोट्याउनु सान्दर्भिक पनि होला जस्तो लाग्यो ।
एक नातेदार कहाँ बच्चा एकजनाको जन्मदिनको पार्टीमा गएको थिएँ । मैले जन्मदिन परेको बच्चालाई जन्मदिन मनायौ त भनी प्रश्न गर्दा, जवाफमा बच्चाले बिहान पूजा चाहिँ गरें अब जन्मदिन बाबाले केक ल्याएपछि मात्र गर्ने भन्ने उत्तर दिए । यसबाटै पनि स्पष्ट हुन्छ, बच्चाहरुको लागि जन्मदिन मनाउनु भनेकै केक काट्नु हो ।
केहि दिन अघि कलेजको फियरवेल र वेलकम पार्टीमा गएको थिएँ । त्यो पार्टी पनि केक नै काटेर मनाइयो ।
त्यस्तै एउटा बच्चाको अन्नप्राशनमा जाँदा त्यहाँ पनि ‘ह्याप्पि राइस फिडिङ’ लेखिएको बडेमानको केक नै काटिएको थियोे । यसो हेर्दा अन्नप्राशन होकि केकप्राशन जस्तो पो लाग्न थाल्यो ।
परम्परागत मिठाई या परिकार साँस्कृतिक उत्सवका महत्वपूर्ण अंग हुने गरेको छ ।
काठमाडौं सामाखुसिस्थित केटिएम बेकरीमा दैनिक लगभग ५ देखि ७ वटासम्म केकको अर्डर आउने गरेको त्यहाँका संचालक राजिव किलंनः श्रेष्ठ बताउँछन् ।
‘हाम्रो बेकरीमा दैनिक लगभग ५ देखि ७ वटासम्म केक बिक्री हुने गरेको छ । तर आमाको मुख हेर्ने र बुबाको मुख हेर्ने दिनमा भने लगभग ७०–८० वटा नै केकको अर्डर आउने गर्छ’ श्रेष्ठले भने ।
त्यस्तै ललितपुर जावलाखेलस्थित माकु बेकरीमा दैनिक ४० देखि ५० वटासम्म केक बिक्री हुने गरेको बेकरीका व्यवस्थापन प्रमुख नारण महर्जन बताउँछन् । त्यस्तै विभिन्न अवसरमा भने दुई सयदेखि तीन सय वटासम्म पनि बिक्री हुने गरेको महर्जनको भनाई छ । उनका अनुसार पहिलाको तुलनामा अहिले भने केकको अर्डर कम आउने गरेको छ ।
‘पहिलाको भन्दा अहिले केक अलि कमै मात्रामा जान थालेको छ । अहिले देशमा लागेको आर्थिकमन्दीको कारण उपभोक्ताले धेरै पैसा नै खर्च नगरेको जस्तो लाग्छ’ महर्जनले भने ।
त्यस्तै केकको अनलाइन पसल युजी केक्सका मार्केटिंग एण्ड बिजनेस डेभलप्मेन्ट हेड प्रमिशा लुइृँटेलले विशेष अवसरका दिनहरुमा दैनिक चार सयदेखि ४५० वटासम्म पनि केकको अर्डर आउने गरेको बताइन् ।
‘बुबाको मुख हेर्ने, आमाको मुख हेर्ने दिन, भ्यालेन्टाइन डे, रक्षावन्धन, भाइटिका आदि जस्ता दिनमा लगभग ४००–४५० वटा केक जाने गरेको छ । केकको अर्डर सन् २०१६ देखि बार्षिक रुपमा ८० प्रतिशतले वृद्धि हुने गरेको थियो । कोभीड–१९ महामारी समयमा स्थिर अवस्थामा रहेको बजार फेरी बढ्ढो स्थितीमा छ’ लुईँटेलको भनाई हो ।
मौलिकता भने नभुलौं
रमाइलो गर्नु, उत्सव पर्वमा केही मिठो खानु, ख्वाउनु त हाम्रो परम्परा नै हो । तर, केक पाश्चात्य चलन हो भन्ने कुरामा पनि कसैको दुईमत नहोला ।
यसो भन्दैमा केक वहिष्कार नै गर्नुपर्छ भन्ने त पक्कै होइन । तर केक काटेसँगै आफ्नो कुल र समुदायको परम्पराको पनि कटौती भने हुनु भएन ।
नेवार समाजमा जन्मदिनमा घरमा सुकुन्दा बालेर ठुलाबडाको हातबाट अण्डा र कपडा सगुनसँगै ठूलाबडाको हातवाट आशीर्वाद थाप्ने चलन छ । टोलमा दहि चिउरा बाँडेर मन्दिरमा दियो बाल्ने चलन छ ।
तर, अचेल दहि चिउरा बाँड्ने चलन त प्राय लोप अवस्थामै पुगिसक्यो भने हामी केकमा बालिएको मैनबत्ती निभाउने संस्कृतिमा रमाउन थालेका छौं । यस्तै हो भने केही वषर्मा हाम्रा संस्कृति सायद किताबमा मात्र सिमित हुनेछन् ।
केकको प्रचलन बढ्दै जाँदा हाम्रा रैथाने सांस्कृतिक परिकारहरु विस्थापित हुँदै गइरहेको भने चिन्ताको विषय हो । हाम्रा मौलिक संस्कार, दर्शन र व्यवहार हराउँदै जाने र परसंस्कृति मात्र अँगाल्दै जाने हो भने भोलिको दिनमा हाम्रो मौलिकता के बाँकि रहला र ?
त्यही भएर संस्कृतिको अभ्यास र त्यसको ज्ञान नयाँ पुस्तालाई हस्तान्तरण गर्नु जरुरी छ । साना बालबालिकाहरुलाई स्कुल र घरमा आफ्नो संस्कार संस्कृतिको उचित ज्ञान दिने गरिए हाम्रो मौलिक परम्परा, संस्कृतिको संरक्षणमा राम्रै टेवा पुग्ला कि ?
Categorized in विचार