arin enterprises

काठमाडौंमा क्यालिग्राफी महोत्सव आयोजना हुँदै

SamacharDesk – बिराज | २०८१ श्रावण ३१, बिहिबार

रन्जना, प्रचलित, भुजिंम्वः, देवनागरी लगायतका लिपिहरुसँग सम्वन्धित भई क्यालिग्राफी महोत्सव काठमाडौंमा हुने भएको छ ।

नेपालका विभिन्न लिपिहरुसँग सम्वन्धित भई विभिन्न गतिविधिहरु गर्दै काठमाडौंमा नेपाल अक्षर, नेपाल क्यालिग्राफी महोत्सव २०२४ को आयोजना हुन लागेको हो ।

क्यालिग्राफी नेपाल र क्यालिजात्राको संयुक्त आयोजनामा आउँदो भदौ १५ गतेका दिन काठमाडौं बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा उक्त महोत्सवको आयोजना हुन लागेको हो ।

महोत्सवमा लिपिहरु सम्वन्धि कार्यशाला, प्रत्यक्ष क्यालिग्राफी सत्र, लिपि प्रदर्शनी, प्यानल डिस्कसन लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ ।

आयोजक संस्थाका अनुसार महोत्सवमा रन्जना, प्रचलित, भुजिंम्वः, देवनागरी लगायतका लिपिहरुको बारे अन्तरक्रिया गरिनेछ । त्यस्तै विभिन्न कलाकारहरुको चित्रकलाको माध्यमबाट लिपिको विविधिता र माध्यमको प्रदर्शनी हुने बताइएको छ ।

यस प्रदर्शनीले विभिन्न नेपाली लिपिहरुको सौन्दर्यमाथि प्रकाश पार्ने आयोजक संस्थाको दावी छ ।

‘क्यालिग्राफी, हातको लेखन मात्र नभई, यो आफैंमा एउटा कला र कलाकारिता हो । प्रदर्शनीमा कलाकारहरुले आफुले राजेको माध्यमबाट आफ्नो कलालाई अभिव्यक्त गर्नेछन्’ क्यालिग्राफी नेपालका संस्थापक रतन कर्ण बताउँछन् ।

क्यालिग्राफी सेसनमा महोत्सवका अवलोकनकर्ताहरुले रन्जना लिपिमा आफ्नो नाम लेखाउनुका साथै क्यालिग्राफीको सीप र तरीकाबारे बुझ्न आफैंले पनि अभ्यास गर्न सक्ने क्यालिजात्राकी उपाध्यक्ष लुमु श्रेष्ठ बताउँछिन् ।

काठमाडौं उपत्यकालगायत नेपालका विभिन्न ८० भन्दा बढि स्थानहरुमा सय भन्दा बढि क्यालिग्राफी सत्र सन्चालन गरिसकेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।

‘हाम्रो उद्देश्य भनेकै रन्जना लिपिको प्रवद्र्धन हो । क्यालिग्राफी कार्यक्रमबाट समुदायमा रन्जना लिपि सम्वन्धि बृहत रुपमा सचेतनाको विकास हुँदै गएको हामीले पाएका छौं’ उपाध्यक्ष श्रेष्ठ दावी गर्छिन् ।

नेपालमा धेरै सुन्दर र अद्वितीय लिपिहरू रहेको र त्यसमा पनि रञ्जना लिपि विशेष रुपमा सुन्दर रहेको क्यालिजात्राका संस्थापक र डिजाइनर आनन्द के. महर्जन बताउँछन् ।

D&AD Yellow Pencil Award र TDC Exellence Award जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय डिजाइन पुरस्कार जितेको ‘नित्या रञ्जना’ फन्ट विकास गर्न पाउँदा आफुलाई गर्व लागेको महर्जनको भनाई छ ।

यो महोत्सव रन्जना, प्रचलित, भुजिंम्वः, देवनागरी लगायत नेपालका विभिन्न लिपिहरुको जानकारी लिने, अन्तरक्रिया गर्ने, नयाँ ज्ञान र विचारकाे खाेजी गर्ने एउटा डबली हुने आयोजकले जनाएको छ ।

नेपालको लेखन कलाको परम्पराको प्रवर्द्धन गर्दै यसलाई लोकप्रिय बनाउने र परम्परागत लेखन कलालाई नयाँ पुस्तासँग जोड्ने महोत्सवको उद्देश्य रहेको क्यालिग्राफी कलाकार सौरभ थापा श्रेष्ठ बताउँछन् ।

क्यालिग्राफी र यससँग सम्वन्धित कलाका नमूनाहरुको खरीदको एउटा राम्रो बजार हुने आयोजकको दावी छ ।

भदौ १५ को दिनमा उक्त महोत्सव विहानको ११ बजेदेखि साँझको ६ बजेसम्म संचालन हुने आयोजक संस्थाले जानकारी दिएको छ । 

Categorized in समाज