काठमाडाैं ७ मा बाजी मार्लान् त राजेन्द्र श्रेष्ठले?
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७९ कार्तिक १५, मंगलबार

आसन्न संसदीय निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदका लागि काठमाडौं क्षेत्र नम्बर ७ मा जनता समाजवादी पार्टीबाट राजेन्द्र प्रसाद श्रेष्ठले उम्मेदवारी दिएका छन् । विशेष गरेर मधेस प्रदेशतिर पकड बनाएको जसपा पार्टीको काठमाडौं भित्रको बलियो क्षेत्रको रुपमा पनि यहि ७ नम्बर क्षेत्रलाई लिएको छ ।
काठमाडौं क्षेत्र नम्बर ७ मा पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेका जसपा नेता राजेन्द्र प्रसाद श्रेष्ठले नै जित्ने दावी गरिँदै आएको छ । हुन पनि क्षेत्र नम्बर ७ मा अन्य उम्मेदवार भन्दा राजेन्द्र श्रेष्ठकै दबदबा देखिएको छ ।
यस अघि उनी सांसद रहँदा संसदमा जनताका विभिन्न मुद्दालाई उठाएर जनताको बोली बोल्ने नेताको छवि श्रेष्ठले बनाएका छन् ।
राज्यले काठमाडौंमा जताततै सडक विस्तार, रिंगरोड, फास्ट ट्र्याक आदिको नाममा डोजर चलाउने नीति लिएपछि जनताले यसको विरोध गरे । क्षतिपुर्ति पनि नदिने र विकासको नाममा पुख्र्यौली घरजग्गा पनि गुम्ने भएपछि पिडित पक्षहरुले संगठित रुपमा आन्दोलन नै थाले । यस्तो अवस्थामा श्रेष्ठले राज्यको यस्तो रवैयाको विरुद्धमा संसदमा आवाज उठाए । साथै आवास सम्वन्धि विधेयकमा संशोधन प्रस्ताव राख्दै विना क्षतिपुर्ति जनताको घर भत्काउन नपाइने, जग्गा कब्जा गर्न नपाइने व्यवस्था सुनिश्चित बनाए ।
शिक्षा सम्वन्धि विधेयकमा पनि उनले नै संशोधन प्रस्ताव राख्दै मातृभाषामा शिक्षा लिन पाइने वातावरण सुनिश्चित बनाए । यसै विधेयकमा टेकेर अहिले काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, ललितपुर महानगरपालिकाले स्थानीय पाठ्यक्रम स्थानीय मातृभाषामा लागू गरेका छन् ।
ऐतिहासिक कमलपोखरीलाई मासेर व्यापारिक भवन छायाँ कम्प्लेक्स बनाएको भन्दै संसदमा आवाज उठाएर कमलपोखरी पुनर्स्थापनाको माग बुलन्द गरे । गुठी विधेयकविरुद्ध पनि संसदमा उनले बोलेका छन् ।
‘संसद भनेकै जनताको मुद्दामा बहस गर्ने थलो हो र म संसदमा जानु भनेको जनताको आवाज लिएरै जाने हो । मैले संसदमा जति बोलें, जनताकै बोली बोलेको छु’ श्रेष्ठले भने ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गर्दा संसद पुनस्र्थापनाको लागि साथै वर्तमान सत्ता गठबन्धन निर्माण गर्न पनि त विशेष भूमिका निर्वाह गरेका नेता भनेर राजेन्द्र श्रेष्ठकै नाम अगाडी आउने गरेको छ ।
यति मात्र होइन, सालिन स्वभावका नेता श्रेष्ठले मन्त्री नरहेको अथवा भनौं पदमा नभएकै बेलामा पनि २०७२ सालको महा भूकम्पबाट घरबार गुमाएका पिडित पुरानो गुह्येश्वरीका घरपरिवारलाई १२० वटा घर बनाई हस्तान्रतण गरे । तर उनले यस विषयलाई प्रचार प्रसारको माध्यम बनाएनन् । यसैको क्रेडिट लिँदै भोट संकलन गर्न खोजेनन् ।
‘मैले भोट पाउन वा हल्लाबाजी गर्न यो काम गरेको थिएन । पिडित परिवारलाई राहत होस् भन्ने मेरो मनसाय हो, काम गरें, सिद्धियो’ श्रेष्ठले सन्तुष्ट हुँदै भने ।
एक कुशल गायक र रचनाकार समेत रहेका श्रेष्ठलाई राजनीतिक बृत्तमा नीति र सिद्धान्तमा अडिग नेताको रुपमा लिने गरिन्छ । संघीयताविद्को रुपमा पनि छवि बनाएका नेता श्रेष्ठलाई नेपाली राजनीतिमा समाजवादको लहर ल्याउने नेताको रुपमा पनि परिचय दिने गरिएको छ ।
कम्युनिष्ट पार्टीको लहर चलिरहेकै बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट छुटिएर अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताले ‘संघीय समाजवादी पार्टी नेपाल’ पार्टीको स्थापना गरे । यस पार्टीका नाम सँगै विधान निर्माणमा नेता श्रेष्ठको महत्त्वपूर्ण भूमिका रहेको कुरा पार्टीकै नेताहरुले बताउने गरेका छन् । समयक्रमसँगै अन्य पार्टीहरुसँग एकिकरण हुँदै यसक पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल, समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल आदि रहन गयो । तर श्रेष्ठले जुराएको नामको समाजवादी शब्द भने जहिल्यै झुन्डि नै रह्यो ।
यति मात्र होइन, यो पार्टीबाट अलग्गिएर अर्को पार्टी खोल्ने नेताहरुले पनि समाजवादी शब्द नै रुचाए । जसपा अलग्गिएका महन्थ ठाकुर समूहले पनि पार्टीको लोकतान्त्रिक समाजवादी पार्टी राखे । त्यस्तै बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी नामाकरण गरे । यति मात्र होइन, नेकपा एमालेबाट छुटिएर माधव कुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) भनी पार्टीको नाम राखे ।
यसरी वर्तमान समयमा राजनीतिक क्षेत्रमा समाजवादको लहर ल्याउने नेता भनेर पनि राजेन्द्र श्रेष्ठकै नाम लिने गरिएको छ ।
राजनीतिलाई कमाउ धन्दा बनाएकै कारण अहिले देश समस्यामा जकडिएको भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्नेमा श्रेष्ठले जोड दिए ।
‘राजनीति भनेको नीति, सिद्धान्त र विचारमा आधारित भएर गर्ने हो, जनता र देशको प्रगतिको लागि गर्ने हो । म यहि अवधारणा अनुसार अघि बढिरहेको छु, बढिरहने छु’ श्रेष्ठले भने ।
Categorized in राजनीति