कान्स विजेतालाई निफबाट सम्मान
SamacharDesk – विजयरत्न | २०८३ जेठ १४, बिहिबार
काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान (NFCA) र नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजक (NIFF) ले नेपाली चलचित्र ‘एलिफ्यान्ट इन द फग’को टोलीलाई अभिनन्दन गरेको छ ।
अभिनन्दनन कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष केपी पाठक र उपाध्यक्ष शिव पुरीले टोलीलाई सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै मुख्य अभिनेत्री पुष्पा थिङ लामाले पहिलोपटक फिल्ममा अभिनय गर्दा आफूले भोगेको अनुभव सुनाइन् ।
पेशाले मानवअधिकारकर्मी रहेकी लामाले सीमान्तकृत समुदायका पक्षमा लामो समयदेखि काम गर्दै आएको बताउँदै अभिनयमार्फत पनि ती समुदायका भावना र संघर्षलाई अभिव्यक्त गर्ने अवसर पाएको उल्लेख गरिन् ।
सह–लेखक सन्दीप बडालले चलचित्रको शीर्षक “Elephant In The Fog” को अर्थ स्पष्ट पार्दै समाजले देखेर पनि नदेखेजस्तो गर्ने विषय, मौनता र पूर्वाग्रहलाई फिल्मले उठाएको बताए ।
निर्माता अनुप पौडेलले नेपालका सीमान्तकृत समुदायका कथा विश्व मञ्चसम्म पुर्याउने चाहनाले फिल्म निर्माण गरिएको बताए । उनले महिला तथा कम प्रतिनिधित्व भएका समुदायका आवाजलाई सिनेमामार्फत प्रस्तुत गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।
निर्देशक अभिनाश विक्रम शाहले विश्वास र संवेदनशीलतालाई केन्द्रमा राखेर काम गरिएकाले चलचित्रमा देखिएको यथार्थता सम्भव भएको धारणा राखे ।
अध्यक्ष केपी पाठकले क्यान्समा दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय पुरस्कार जित्नु नेपाली चलचित्र क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै चलचित्र टोलीप्रति बधाई तथा आभार व्यक्त गरे ।
कार्यक्रममा पत्रकार, चलचित्रकर्मी र दर्शकहरूले फिल्मको विषयवस्तु, निर्माण प्रक्रिया तथा क्यान्स अनुभवबारे टोलीसँग प्रत्यक्ष संवाद गरेका थिए ।
यस चलचित्रले सन् २०२६ को मा विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टीभलमा ‘अन सर्टेन रिगार्ड’ खण्डअन्तर्गत जुरी अवार्ड र उत्कृष्ट ध्वनि निर्माण पुरस्कार जित्न सफल भएको थियो ।
Categorized in पेजथ्री




