त्रिभुवन पार्कमा सवारी साधनको कार्बन उत्सर्जन परीक्षण
SamacharDesk – बिराज | २०८३ जेठ २०, बुधबार
स्वस्थ शहर पहल (Healthy City Initiative) अन्तर्गत चन्द्रागिरि नगरपालिकाको त्रिभुवन पार्क क्षेत्रमा सवारी साधनको कार्बन उत्सर्जन परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
चन्द्रागिरि नगरपालिका, वातावरण विभाग तथा ट्राफिक प्रहरी कार्यालय, थानकोटको समन्वयमा आयोजना जेष्ठ १९ मंगलबार र गत जेष्ठ १२ गते मंगलबार उक्त कार्यक्रम गरिएको हो ।
सवारी साधनबाट निस्कने धुवाँको गुणस्तर परीक्षण अभियान अन्तर्गत जेठ १२ गते परीक्षण गरिएका सवारी साधनमध्ये ३१ वटामा (४५ प्रतिशत) तोकिएको वायु गुणस्तर तथा उत्सर्जन मापदण्ड पूरा नभएको पाइएको थियो ।
त्यसैगरी, जेठ १९ गते ५७ वटा सवारी साधनको परीक्षण गर्दा २२.८ प्रतिशत सवारी साधनले निर्धारित उत्सर्जन मापदण्ड पूरा गर्न नसकेको देखिएको थियो ।
मापदण्ड पूरा नगर्ने सवारी साधनका चालक तथा धनीहरूलाई प्रचलित कानुन बमोजिम जरिवाना गरिएको छ ।
साथै, सम्बन्धित सवारी साधनको आवश्यक मर्मतसम्भार गरी पुनः उत्सर्जन परीक्षण गराउन सुझाव तथा निर्देशनसमेत प्रदान गरिएको ट्राफिक प्रहरी कार्यालय थानकोटले जनाएको छ ।
वायु प्रदूषण न्यूनीकरण गर्नुका साथै स्वच्छ, स्वस्थ तथा वातावरणमैत्री शहरी वातावरण निर्माणमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम संचालन गरिएको चनपा वातावरण विभागले जनाएकोे छ ।
यस्ता कार्यक्रमहरूले सवारी साधनबाट हुने प्रदूषण नियन्त्रण गरी नागरिकको स्वास्थ्य संरक्षण तथा दिगो शहरी विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
Categorized in स्थानीय




