सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी मनाईंदै
SamacharDesk | २०८१ भाद्र २३, आइतबार

आज ऋषि पञ्चमी । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाइरहेका छन् ।
रजस्वला भएका बेला महिलाले त्रुटिवश छाइछुई भएको भए ऋषिपञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरेमा त्यसबाट मुक्ति प्राप्त हुने धार्मिकग्रन्थमा उल्लेख गरिएको बताइन्छ ।
महिलाहरुले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।
आजको दिन बिहान नुहाएपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रसहित सात ऋषिको पूजा गरिन्छ । सात ऋषिको पूजा गरिने भएकाले आजको दिनलाई ऋषिपञ्चमी भनिन्छ ।
हरितालिका तीजको व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्नसक्ने भएपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको छ । ऋषिपञ्चमीको पूजा गरेपछि नरोपीकन उम्रिएका अन्न, कन्दमूल, कर्कलो आदि खाएर व्रत लिइन्छ ।
आज ऋषेश्वर मन्दिरलगायतका मन्दिरहरुमा महिलाले ऋषिपञ्चमीको पूजा गर्ने गर्दछन् भने नदी किनार वा घरमै पनि पूजा लगाउने गर्दछन् ।
आज ऋषिपञ्चमीको पूजा सकिएपछि दर खाएर शुरु भएको तीज पर्व समापन भएको मानिन्छ । ऋषि पञ्चमी पर्वको अवसरमा टेकु दोभान लगाएत देशभरका पवित्र नदी तलाउका किनारमा महिला दिदिबहिनीको भीड लागेको छ ।
Categorized in संस्कृति