चाकु बनाउन उद्यमीहरुलाई भ्याइनभ्याइ
SamacharDesk – राम डंगोल | २०८० पौष २९, आइतबार

यो वर्षको माघे संक्रान्ति आगामी सोमबारका दिन परेको छ ।
माघे संक्रान्ति नजिकिएसँगै टोखाका चाकु व्यवसायीहरु चाकु बनाउन भ्याइभ्याइ भएको छ । नेपाल भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो ।
टोखा उखुखेती तथा चाकु उत्पादनको लागि प्रसिद्ध ठाउँ हो । तसर्थ उखु धेरै फल्ने क्षेत्र भएकोले चाकु उत्पादन पनि टोखामा बढी मात्रामा हुने गर्दछ । माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेकाले माघे संक्रान्तिमा चाकुको खपत बढी हुने गर्दछ ।
चाकुको माग अझ नेवार समुदायमा यःमरी पुन्हीदेखि नै सुरु भएको हुन्छ । नेवाःहरुको मौलिक परिकार यःमरी बनाउने विशेष गरेर चाकू नै प्रयोग हुने गर्दछ । यसका साथै जाडो महिनामा चाकु खाँदा शरीर तात्ने भएकाले पनि पुस लागेदेखि नै चाकुको माग बढ्ने गर्छ ।
चाकु खाँदा शरीरलाई न्यानो हुनेत छँदैछ शरीरलाई चाहिने भिटामिन तथा मिनरल्सहरु पनि पाउने गर्दछ । जसले रोगसँग लड्ने क्षमता विकास हुने बताइन्छ ।
यसका साथै चाकु महिलाहरु सुत्केरी भएको अवस्थामा खादा पनि दुग्ध आउने र न्यानो हुने भएकाले बढी बिक्री हुने गर्दछ । जसले गर्दा चाकु व्यवसायीहरु बजारमा खपत हुने चाकुको माग धान्नको लागि अरु समय भन्दा दिनरात खटेर, श्रमशक्ति बढी लगाएर चाकु बनाउन लागिरहेको टोखाका चाकु उद्यमीहरुले बताएका छन् ।
काठमाडौंको टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा रहेको उद्यमीहरुले बताए । टोखामा उत्पादन भएको चाकु देशमा काठमाडौँको असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ भने देश बाहिर अमेरिका, युरोप, अष्ट्रेलिया र चीन लगायत नेपालीहरु बसोवास गर्ने देशमा जाने गरेको टोखा चाकु संरक्षणका उपाध्यक्ष बुद्ध श्रेष्ठले बताए ।
सख्खरलाई पकाएर राम्रोसँग फिटेपछि निर्माण हुने चाकु माघे संक्रान्तिमा खानैपर्ने परिकारको रुपमा प्रख्यात छ । टोखाका उद्योगमा हाल सादा चाकु मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् ।
चाकु व्यवसायी तथा टोखा चाकु संरक्षणका उपाध्यक्ष बुद्ध श्रेष्ठ भन्नुहुन्छ,‘चाकु परम्परागत रुपमा नै बनाउने हो । तर केही वर्षदेखि आधुनिक मेसिनको प्रयोग गरेर पनि बनाउन थालिएको छ । ७५ प्रतिशत चाकु परम्परागत बाँकी आधुनिक मेसिनबाट बनाउने गरिन्छ । चाहेको जस्तो कच्चा पदार्थ हामीले पाएका छैनौं । चाकु बनाउदा गुणस्तर चाकु प्रयोग गर्ने कोशिस गरिहेका छौं । विश्व बजारसम्म लैजाने हिसावले गुणस्तर कायम गर्न खाजेका छौं ।
टोखामा बनेको चाकु अमेरिका युरोप,अष्ट्रेलिया र चीन लगायत नेपालीहरु बसोवास गर्ने देशमा निर्यात हुने गरेको छ । चिनारीको लागि लगिएको छ । तर गुणस्तरको कारण बजारमा बेचबिखनको लागि निर्यात गर्न सकिएको छैन । पैसाको लागि भन्दा पनि जनताको सुविधाको लागि काम गरिहेका छौं ।’
टोखाकै चाकु उद्यमी सन्तमाया श्रेष्ठले माघे संक्रान्तिको लागि आवश्यक चाकु बनाउन भ्याइनभ्याई रहेको बताउनु भयो । उहाँले माघे संक्रान्तिको लागि चाकु बनाउन लागेको डेढ महिना भएपनि माग बढी हुँदा चाकु बनाउन चटारो रहेको बताउनु भयो ।
उहाँले विगतका वर्षहरु भन्दा यो वर्ष चाकुको व्यापार राम्रो रहेको बताउनु भयो । उहाँले अन्य समयमा मागअनुसार चाकु बनाइने बताउनु भयो । अहिले मासंक्रान्तिको लागि नियमित बनाउने गरिएको उल्लेख गर्नुभयो ।
यसरी बनाइन्छ चाकु
सामान्यतया चाकु बनाउँदा पानीमा सखर राखेर आगोमा लामो समयसम्म पकाउने, उक्त पानी र सखर पाकेसँगै ठूलो खुल्ला भाँडोमा राख्ने। तातो सेलाएसँगै त्यसलाई रंग परिवर्तन नहुँदासम्म फिट्ने।
त्यसपछि आफूलाई चाहिने मात्रामा किसकिस, काजु, नरिवल मिसाएर केही समय खुल्ला छोड्ने। यस्तै, घरेलु तरिकाले आफूले चाहेअनुसारको आकारमा चाकु तयार गर्न सकिन्छ।
चाकुको फाइदा
गुलियो खाद्यवस्तुले शरिरलाई शक्ति प्रदान गर्ने गर्दछ। जाडो मौसममा थकित शरिरलाई सन्तुलन गर्ने काम गुलियो खाद्यान्नभित्र पाइन्छ।
चिसोबाट थाकेको शरिरलाई न्यायो हुन्छ भन्ने मान्यताका साथ चाकु, घ्यू, तरुल, तिल, सक्खरखण्ड जस्ता खाद्यपदार्थलाई प्रसादको स्वरुप लिने गरिँदै आएको छ। सखर र पानीबाट बन्ने चाकुमा कार्बोहाइड्रेड प्रशस्त मात्रामा हुन्छ।
त्यस्तै, चाकुमा हुने कालो पदार्थमा अधिक मात्रामा आइरन पाइने हुँदा कमजोर शरिर, सुत्केरी महिला तथा रक्तअल्पता भएका विरामीको लागि यसले धेरै फाइदा गर्छ।
जाडोयाममा शरिरलाई अधिक मात्रामा उर्जा आवश्यक पर्ने हुँदा घ्यू र चाकु प्रयोग हुने गर्दछ ।
Categorized in समाज