arin enterprises

कुँद्नेमात्र होइन, मूर्तिलाई ज्यान दिन्छन् रवि

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ३१, शुक्रबार

मीननाथ, पाटनमा स्थानीय भाषामा चाकुबाःद्यः अथवा जटाधारी लोकेश्वर । मीननाथको रातो मच्छिन्द्रनाथसँग निकै नजिकको सम्वन्ध छ ।

नेपालकै सबैभन्दा लामो रथजात्राको रुपमा लिइने रातो मच्छिन्द्रनाथको रथयात्राको बेलामा मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथ पनि तान्न गरिन्छ । अगाडी अगाडी मच्छिन्द्रनाथ पछि पछि मीननाथ ।

जात्राको क्रममा मच्छिन्द्रनाथको रथ पूल्चोकमा दमकल अगाडी निर्माण हुन्छ भने मीननाथको रथ टंगलमा बनाइन्छ ।

अक्षय तृतियाको भोलिपल्टबाट पाटनमा जात्रा हुन्छ । सो क्रममा शुरुमा मीननाथको रथालाई टंगलबाट तानेर पूल्चोकमा ललितपुर महानगरपालिकाको भवन अगाडी पुर्‍याइन्छ । पछि दमकल अगाडीबाट मच्छिन्द्रनाथको रथ तानेर मीननाथको रथ अगाडी पुगेपछि दुवै रथ सँगसँगै अगाडी बढाइन्छ ।

मीननाथ र मच्छिन्द्रनाथकाे जात्राबारे किम्वदन्ति :

मच्छिन्द्रनाथको जात्रासँगै मीननाथको रथ तान्नुपर्ने परम्पराको सम्वन्धमा एउटा किम्वदन्ति समाजमा प्रचलित छ ।

हुन त मच्छिन्द्रनाथको रथयात्राभन्दा मीननाथको रथयात्रा अझ पुरानो मानिन्छ । किंवदन्तीअनुसार परापूर्वकालमा ललितपुरमा १२ वटा रथजात्रा हुने गर्दथ्यो । १२ वटा रथयात्रा भनेपछि १२ वटै अलग अलग रथ बनाउनुनर्पे स्वाभाविक नै भयो ।

नेपालमा मच्छिन्द्रनाथको आगमन भइसकेपछि बसै जात्रा मच्छिन्द्रनाथमै समाहित गरी मच्छिन्द्रनाथको एउटा मात्र रथजात्रा गर्ने कुरा उठ्यो । अरु सबै देउता मच्छिन्द्रनाथमै समाहित हुन माने, तर आफ्ना जात्रा मच्छिन्द्रनाथको भन्दा पुरानो भएकोले मीननाथले भने मानेनछन् ।

त्यसपछि मीननाथ र मच्छिन्द्रनाथको जात्रा सँगसँगै गर्ने परम्पराको शुरुवात भयो ।

मीननाथकाे रथ र चण्डभैरव :

मीननाथ र मच्छिन्द्रनाथको रथ बनाउँदा त्यसको निश्चित नियम हुने गर्दछ । मच्छिन्द्रनाथको रथ ३२ हात उचाईको हुनुपर्छ भन्ने मान्यता छ भने मीननाथको रथ ४८ फिट जतिको हुन्छ । मच्छिन्द्रनाथको भन्दा सानो र हिसि परेको चित्ताकर्षक रथमा मीननाथलाई राखिन्छ ।

मच्छिन्द्रनाथको रथमा जस्तै मीननाथको रथको अगाडि पनि एउटा लामो काठ एउटा रहन्छ । त्यसलाई स्थानीय भाषामा धःमाः (काठमाडौंतिर घःमाः) भनिन्छ । उक्त धःमाःको अगाडीको भागमा भैरवको मूर्ति राखिन्छ ।

मच्छिन्द्रनाथकोमा रथको धःमाःमा ह्ययग्रीव भैरव बस्छन् भने मीननाथकोमा चण्ड भैरव बस्छन् ।

यस वर्ष मीननाथकाे रथमा घःमाःको भैरवको मुर्ति फेरीने भएको छ । यसपालि मीननाथको धःमाःमाा राखिन लागेको चण्डभैरवको नयाँ मुर्ति कलाकार रवि शाक्यले तयार गरेका हुन् ।

२०४२ साल आश्विन शूक्ल सप्तमी (फूलपाती) आइतबारका दिन ललितपुर ओकुबहालमा जन्मेका रविले मूर्ति बनाउने काम सानैदेखि गर्दै आएका भन्दा फरक नपर्ला । बुवा रत्न बहादुर शाक्य र आमा नीलदेवी शाक्यको कोखवाट जन्मेका रविको पुर्ख्याैली पेशा नै हो, मूर्ति बनाउने । सम्भवत लिच्छवीकालदेखि नै आफ्ना पुर्खाहरुले मूर्ति बनाउन थालिसकेको रवि बताउँछन् ।

‘म सानो छँदा नै मेरो बुवा र काका सन्तमानन्द शाक्य मूर्ति बनाइरहँदा आफुले सकेको काममा बुबा र काकालाई सहयोग गर्थें, यसो गर्दै मूर्ति बनाउन पनि सिकें र आफै मूर्ति बनाउन पनि थालें’ रविले विगतको दिन सम्झे ।

आज रवि ललितपुरमा उनी कुशल मूर्तिकारको रुपमा चिनिन्छन् । मीननाथको रथमा राखिने रविले बनाएको चण्डभैरवको मूर्ति पनि उनले निकै आकर्षक बनाएका छन् ।

उक्त मुर्तिलाई बिहिबार विधिवत रूपमा भेंडाको बलिसहितको पञ्चोपचार पूजा सम्पन्न गरेर टंगलको चाकुबहालमा ल्याइएको छ । मूर्तिकारहरुलाई र मानिसहरुलाई केही हानी नगरेस् भन्दै यसरी बलि दिएर पूजा गरिने हो । आज शुक्रबार बिधिवत रूपमा दशकर्म पूजा गरि नयाँ मूर्तिमा प्राण प्रतिस्था गरिनेछ ।

कलाकार शाक्यका अनुसार एकजना दाताले धेरै बर्ष अघिदेखि नयाँ मूर्ति राख्न खोजिरहेका थिए । यो बर्ष नयाँ मूर्ति बनाइयो पनि र फेरीने भयो पनि । शाक्यले उक्त मूर्तिको स्वरुप देख्दा उनलाई चित्त बुझेन ।

कोटरक्ष भैरव पनि भनिने चण्ड भैरव एकदम उग्ररूपी भैरव हो । यो भैरव गाढा नीलो बर्णको हुन्छ । ठुल्ठला ३ वटा आँखा, नागको कुण्डल र विभिन्न अलंकार लगाएका भैरवले गलामा सर्पको माला र मुण्डमाला धारण गरेका हुन्छन् । उनको दायाँ हातमा महापात्र (मान्छेको खप्पर) हुन्छ भने बाँया हात बिन्दु मुद्रामा हुन्छ ।

यीलगायत अन्य धेरै पक्षमा ध्यान दिएर भैरवको मूर्ति बनाउनुपर्छ । ‘भैरवको स्वरूप नै बिगारेर बनाइ राख्न लागेको थियो । त्यो देखेपछि मैले विरोध गरें र नयाँ मूर्ति आफै बनाइदिने कुरा राखें, त्यसपछि १३ दिनभित्रै नयाँ मूर्ति तयार गरें’ शाक्यले भने ।

चण्डभैरवको नयाँ मूर्ति बनाउनका लागि आफुलाई सौरभ शाक्यको साथमा सुसन शाक्य र दिपेन्द्र शाक्यको धेरै मद्दत रहेको पनि रविले बताए ।

उग्ररुपका भैरव अथवा अन्य देवी देवताको काम गर्न त्यति सजिलो भने नरहेको रवि बताउँछन् । देवताको मूर्ति बनाउँदा जथाभावि भएमा ज्यानसम्म जानसक्ने सम्भावना हुने रविको भनाई छ ।

‘यस्तो मूर्तिहरु बनाउँदा म कैयौं दिन साधनामा बस्छु, बज्रयान र बोन्पा धर्म अनुसार जप र तन्त्र साधना गरी श्री विद्याधारी योगीनीलाई आफुमा आह्वान गर्छु र सोहि देवीको आज्ञा अनुसार काम गर्छु’ रविको भनाई हो ।

यसअघि उनले टोखाको प्रशिद्ध मसानकालिको मूर्ति पनि बनाएइसकेका छन् । मसानकालीको मूर्ति बनाउँदा यस कालीको स्वरुप कस्तो हुन्छ आफुलाई थाहा नहुँदा धेरै गार्हो भएको अनुभव सुनाउँछन् रवि । मसानकालीको मूर्ति बनाउन पनि आफुले निकै साधना गरेको र जानकारहरुसँगै धेरै पटक सोधपुछ गर्दै बनाएको सुनाउँछन् रवि ।

सन्तुष्ट छन् रवि, खुसी छन् देवीदेवताको मूर्ति बनाएर । आफुले बनाएको मूर्तिको तारीफ अरुले गर्दा खुसी नहुने त कुरै भएन । सबैले तिम्रो कलाकारिता राम्रो छ भन्दा मन प्रफुल्लित हुने त भइहाल्यो । तर यो काम मात्र कलाकारिता नभई एउटा कठोर साधना नै भएको रविको विचार छ ।

‘यस्तो काममा लाग्नेले बुट्टा कुँद्ने, आकार निकाल्ने मात्र नगरी साधना गरेर मूर्तिमा आफै डुबेरै मूर्तिलाई ज्यानसम्म दिन सक्नुपर्छ’ रविले आफ्नो विचार राखे ।

फोटो ग्यालरी : चण्डभैरव मूर्ति र मूतिर्कार रवि : फाेटाे फिचर
Categorized in संस्कृति