बनेपामा मनाइने चण्डेश्वरी जात्रा र शक्तिपूजा
SamacharDesk – बद्रिनाथ कायस्थ | २०८१ जेठ १०, बिहिबार
बनेपामा परापूर्बकालदेखि चलिआएको चण्डेश्वरीको जात्रा चण्डी पूर्णिमाको दिन अर्थात बैसाख शुक्ल पुर्णिमा र त्यसको भोलिपल्ट प्रतिपदाको दिन भब्यताका साथ मनाइ आएको हेर्ने मौका भाग्यले मैले पनि पाएको थिएँ । त्यसमा म चण्डेश्वरी माई र चण्डेश्वर शिवलिंगलाई कोटि कोटि प्रणाम गर्दछु । साथै बनेपावासीहरुलाई पनि यस चण्डेश्वरी शक्ति पीठको शक्ति पूजाहरु परापूर्वकालदेखि भब्य रुपमा मनाईआएकोमा मनैदेखि धेरै धेरै धन्यबाद दिन चाहन्छु ।
हुन त यसमा भइआएका सबै शक्ति पूजाहरु मैले बिस्तृत रुपमा हेर्न पाएको त छैन । तर पनि यस चण्डेश्वरी जात्रामा भइआएका शक्ति पूजाहरु हेर्दामा धेरै नै खुसी लागेर आउँछ । यस बारेमा अध्ययन गर्न मन पनि लागेको छ, तर गर्न सकेको भने छैन ।
चण्डेश्वरी मन्दिर भित्र, चण्डेश्वरी शक्ति पीठमा हुने बिभिन्न पूजाहरु त्यसमा पनि बिशेष गरेर चण्डि जात्रा भन्दा अगाडि हुने शक्ति पूजाहरु राम्रोसंग हेर्न पाएको छैन । आज यस बारेमा केही लेख्नु भन्दा पहिले चण्डेश्वरी माईकी जय भन्दै फेरी फेरी पनि जात्रा हेर्ने मौका पाउन कृपा होस् भनेर देवीलाई प्रणाम ढोग गर्दै त्यसमा सम्पन्न हुने शक्ति पूजाहरु बारेमा हेर्न पाउने आशा लिएको छु ।
चण्डेश्वरी जात्रा अघिकाे देवाली पूजाः
चण्डेश्वरीको स्तोत्र पाठ जसलाइ ‘परनाम’ स्तोत्र पाठ भनिन्छ, धेरै जसो बनेपावासीहरुले चण्डेश्वरी जात्राको एक महिना पहिले देखि नै घर घरमा पाठ गर्ने गरेको पाईन्छ । त्यसो त यो स्तोत्र पाठ मुख्यत चण्डेश्वरीलाई आवाहन गर्ने भन्ने स्थानीयवासीहरुको जनबिश्वास छ । तर त्यसबाहेक चण्डेश्वरीको स्मरण गर्न र धन्यबाद दिन पनि हो जस्तो लाग्दछ ।
चण्डेश्वरी जात्रा हुनु भन्दा अगाडि देवाली पूजा पनि हुने गर्दछ । चण्डेश्वरीको जात्रा गर्नुभन्दा एक हप्ता अगाडि अष्टमीको दिन भोछिभोया खलकहरु ( स्यस्यः खलकहरु) द्वारा चण्डेश्वरीमा बिशेष देवाली पूजा मनाई आएको पाईन्छ ।
देवाली पूजा आआफ्नो खलकहरु मिलेर तान्त्रिक बिधि अनुसार पशुवलि भोग चढाएर आआफ्ना कुलदेवता र पुर्खाहरुलाई आह्वान गरेर गरिन्छ भन्ने मान्यता छ । तर पनि देवाली पूजामा बिहान सबै मिलेर पूजा गर्ने र पूजा पछि सम्हय (सम्हय बजि) खाने प्रचलन जारी छ ।
सॉझपख सीकाःभू गर्ने चलन पनि चलिआएकै छ । देवाली पूजामा चतांमरि बिछाएर कुलदेवता र पुर्खाहरुलाई आह्वान गर्ने प्रचलन पनि छ ।
साधारणतः आआफ्ना खलकहरु मिलेर बर्षको एक पटक दिवाली पूजा कुलदेवता र पुर्खाहरुलाई आह्वान गरी गरिन्छ भन्ने मान्यता छ । तर चण्डेश्वरी जात्रा भन्दा अगाडि गरिने देवाली पूजाको बिशेषता भनेको देवाली पूजा सम्पन्न गरेपछि रथ यात्रा गर्ने सम्पूर्ण मार्गहरुमा भात छर्दै जाने चलन पनि छ ।
यसबाट तीन लक्ष्यहरु हासिल हुन्छ भन्ने मान्यता रहेको छ ।
जात्रामा बिघ्नबाधा केही नआओस् भनेर, एक प्रकारको शान्ति स्वस्तिको रुपमा, जात्रा राम्रोसंग सम्पन्न होस भन्ने आशय राखेर भात छर्दै हिँड्छन् । यसरी यहॉ दिवाली पूजाको दुई गुणा महत्व देखाइएको छ ।
चण्डी पूर्णिमाको अघिल्लो दिन बेलुकीपख बनेपाको तःगुठीका (ठूलो गुठीका) गुठीयारहरुले ठूलो पूजा (तः क पूजा) गर्दछन । यस पूजामा आचाःजुहरुको मुख्य संलग्नता र मुख्य भूमिका रहेको पाईन्छ । यसबाट यो पक्का पनि बिशुद्ध तान्त्रिक विधि बिधान अनुसार शक्ति साधना गरेर पूजा हुन्छ भन्ने प्रष्ट हुन्छ ।
यो ठूलो गुठीको पूजा चण्डेश्वरी शक्ति पीठ भित्र बार्ह वटा बोकाहरु बली चढाएर शक्ति साधना गरेर आचाःजुहरुबाट भब्य शक्ति पूजा भएको हेर्न पाएको छैन । त्यसकारण त्यस शक्ति पूजा बारेमा थप केही भन्न सकीन ।
चण्डेश्वरी माईको स्वागत स्वरुप शक्ति पूजाः
यो पूजाको अर्को महत्वपूर्ण कुरा सो पूजाको दिन पूजा पाठ गरी घर घरमा भोज खाने चलन छ । यसबाट पनि यस पूजाको ठूलो महत्व रहेको बुझ्न सकिन्छ । यस शक्ति पूजालाई चण्डेश्वरी जात्राको लागि चण्डेश्वरी माईको स्वागत सत्कार गरेको र बनेपामा शान्ति सुरक्षा दिएकोमा धन्यबाद दिएको पूजा हो भन्ने जनमानसमा मान्यता छ ।
यस शक्ति पूजाबाट शक्ति उत्पन्न हुन्छ र बनेपावासीहरुले शक्ति प्राप्त गर्दछन् भन्ने शास्त्रीय मान्यता छ । नेवाः दर्शन र सिद्धान्त अनुसार पनि शक्ति पीठमा शक्ति पूजा शक्ति प्राप्त गर्न गरिन्छ भन्ने मान्यता छ ।
यस तःगुठी को तःक पूजा आचाःजुहरुबाट भब्य तान्त्रिक विधि अनुसार पशुबली चढाएर शक्ति पूजाहरु भई शक्ति उत्पन्न भई बनेपावासीहरुले शक्ति प्राप्त गर्दछन भन्ने मान्यता छ ।
चण्डेश्वरी जात्रामा हुने अर्को एउटा बिशेषता भनेको पूजाको रुपमा ‘मत पूजा’लाई पनि लिन सकिन्छ । चण्डीपूर्णिमाको दिन, बिहानै मिरमिरे उज्यालोमा हजारौंको संख्यामा चिलाख (मसाल) बालेर बाजागाजाका साथ बनेपा लायकूमा जम्मा भएर त्यहॉबाट जलेश्वर शिवलिंगको लागि प्रस्थान गर्छन्, जसलाइ ‘मत पूजा’ भनिन्छ ।
यसरी लायकूमा जम्मा भई रक्तचन्दन वन प्रस्थान गरेर त्यस वनको फेदीमा अबस्थित जलेश्वर शिवलिंगको पूजा गर्दछन् । यो जलेश्वर शिवलिंग चण्डेश्वरी मन्दिरबाट उत्तर पूर्व दिशामा रक्तचन्दन वनको फेदीमा अबस्थित छ । यसरी पहिले जलेश्वर शिवलिंगको पूजा गरी महादेवको साथ पाई चण्डेश्वरीको पूजा गर्दा सर्वोत्तम फल प्राप्त हुन्छ भन्ने जनबिश्वास छ ।
यस जलेश्वर शिवलिंगको नजिकैको खोलामा स्नान गरी शिवलिंगको पूजा गर्दा बच्चाहरु तुहिँंदैन भन्ने आस्था र बिश्वास पनि रहेको छ । त्यसकारण यस मत पूजामा धेरै महिलाहरुले पनि भाग लिईरहेका हुन्छन्, खास गरेर बच्चा तुहिएका महिलाहरु ।
मूर्तिमा शक्ति सृजना भएको बेलामा सर्बसाधारण भक्तजनहरुले पनि सम्हय्, ख्येँय् सगं, पंचमकार र अझ कत्तिले त पशु बली चढाएर पूजा गर्दा शक्ति साधना भई शक्ति प्राप्त हुन्छ भन्ने जनबिश्वास छ
पॉचौ पूजा चण्डी पूर्णिमाको राती चण्डेश्वरी शक्ति पीठमा द्यःछेँबाट लगेर राखिएको मूर्तिमा पूजा सम्पन्न गरी सो मूर्तिलाई रथमा प्रतिस्थापन गर्दा पूजा गर्ने भक्तजनहरुको घुईँचो लाग्दछ । यसरी द्यःछेँबाट लगेर चण्डेश्वरी शक्ति पीठमा राखिएको मूर्तिमा प्रसस्त शक्ति सृजना हुने र त्यसबाट शक्ति प्राप्त हुन्छ भन्ने मान्यता भएको हुँदा यसरी पूजा गर्ने भक्तजनहरुको भीड़ लागेको हो ।
यसरी मूर्तिमा शक्ति सृजना भएको बेलामा सर्बसाधारण भक्तजनहरुले पनि सम्हय्, ख्येँय् सगं, पंचमकार र अझ कत्तिले त पशु बली चढाएर पूजा गर्दा शक्ति साधना भई शक्ति प्राप्त हुन्छ भन्ने जनबिश्वास छ ।
अब यसमा स्थानीय सरकार नगरपालिकाले पनि सकारात्मक भूमिका खेल्दै यस पूजा र जात्रालाई सहज, बोझरहित र आत्मनिर्भरतातिर डो¥याएर लान सहयोगी भूमिका खेल्न सक्तछ जस्तो लाग्दछ ।
यो चण्डि जात्रा बनेपाको गौरवपूर्ण आफ्नो मौलिक संस्कृति र सभ्यता बोकेको र सबै स्थानीयवासीहरुले अनिवार्य रुपमा मानी आएको ठूलो महत्वपूर्ण चाडपर्व भएकोले यो स्थायी रुपमा मनाउन सकोस् भनेर यसमा स्थानीय सरकारले बनेपालाई आत्मनिर्भर बनाउँदै बिकाशतिर अगाडि बढाउन पाईला चाल्ने मौका दिन सहयोग गर्न सकिने देखिन्छ ।
यस शक्ति पूजाको लागि आबश्यक पूजा सामाग्रीहरुको लेखाजोखा गरी यसमा स्थानीय स्तरबाट उत्पादन हुन सकिने र बाहिरबाट आयात गर्नुपर्ने छुट्याउनु पर्ने हुन्छ । त्यसमा पनि स्थानीय स्तरमा उत्पादन गरी आयात घटाउन सकिने कुराको पनि लेखाजोखा हुन आबश्यक छ ।
जात्रामा स्थानीय सरकारले सरोकार राखोस्ः
स्थानीय सरकारले स्थानीय स्तरमा उत्पादन भएको पैदावारहरुको सजिलो ब्यापारको लागि स्थानीय स्तरमा जग्गा छनौट गरी सुबिधायुक्त ब्यापार केन्द्र वा ब्यापार स्थलको सुबिधा दिन सक्छन्, जहॉ स्थानीय उत्पादकहरु आफुले उत्पादन गरेका बस्तुहरु सजिलै किनबेच गर्न सकोस । किन्ने र बेच्ने दुबैलाई सुबिधाजनक हुने गरी यस्तो स्थानको छनौट गरिनुपर्छ ।
अर्को स्थानीय सरकारले क्षेत्र अनुसार राम्रो उत्पादन हुन सक्ने बस्तुहरु छनौट गरी उत्पादनको लागि प्रोत्साहन गर्न शुरु गर्न सक्तछ र आबश्यक बीउ, मलजल र रोग आदिबाट संरक्षणको सुबिधा बारेमा पनि योजनामा समाबेश गर्न सक्तछन् ।
त्यस्तै पशुपालन क्षेत्रमा धेरै योजनाहरु बनाएर सहयोग र सुबिधा पुर्याउन सक्तछन् । फूलहरु र फलफूलहरुको संभाबना पनि यस क्षेत्रमा प्रसस्त देखिन्छ । प्राविधिक सल्लाह सुझाबहरुको ब्यबस्था मिलाएर सहयोग पनि गर्न सकिन्छ ।
जे होस् स्थानीयवासीहरुले कुनै बोझ नमानेर रमाई रमाई पर्व मनाउन पाई रहोस । आज जात्राको मौका छोपेर यी कुराहरु राख्न चाहें, अन्यथा नलिइ दिनु होला ।
चण्डेश्वरी माईलाई प्रणाम छ, नमन छ । जय श्री चण्डेश्वरी माई !
Categorized in विचार