चन्द्रघण्टा देवीको पूजा आराधना गरिंदै
SamacharDesk | २०८१ आश्विन १९, शनिबार

चन्द्रघण्टा देवीको पूजा आराधना गर्दै आज बडादसैंको तेस्रो दिन मनाईंदै छ ।
घटस्थापनाको दिनदेखि ९ दिनसम्म दुर्गा भवानीका नौं वटा रुपको पूजा गर्ने परम्परा अनुसार आजको दिन चन्द्रघण्टाको पूजा गर्ने प्रचलन रहेको छ ।
चन्द्रघण्टा देवीको शिरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई चन्द्रघण्टा भनिएको धर्मशास्त्रमा उल्लेख छ ।
क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी प्रवृत्ति नाश गर्न र सज्जनको रक्षा गर्न चन्द्रघण्टा भगवतीको उदय भएको श्रीमद देवीभागवतलगायत ग्रन्थमा उल्लेख छ ।
देशभरका शक्तिपिठमा आज पनि भक्तजनको घुँइचो लागेको छ । काठमाडौँ उपत्यकाका गुहृयेश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, इन्द्रायणीलगायतका मन्दिरमा पूजाआज गर्नेको बिहानैदेखि भिड छ ।
उपत्यका बाहिर धरानको दन्तकाली, संखुवासभाको सिद्धकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी, डोटीको शैलेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको घुइँचो लागेको छ ।
Categorized in संस्कृति