arin enterprises

चन्द्रागिरि नगरपालिकाद्वारा तीनवटा नगरपालिकालाई सहयोग

SamacharDesk – बिराज | २०८२ बैशाख ९, मंगलबार

चन्द्रागिरि नगरपालिकाले अन्तरपालिका सहकार्य कार्यक्रम अन्तर्गत आफ्ना तीन छिमेकी नगरपालिकाहरुलाई आर्थिक सहयोग गर्ने भएको छ ।

विभिन्न आयोजना कार्यान्वयन गर्न चन्द्रागिरि नगरपालिकाले तीन छिमेकी नगरपालिकाहरुलाई १०/१० लाख रुपैयाँ उपलब्ध गराउने भएको हो ।

यस अन्तर्गत चनपाले कीर्तिपुर नगरपालिकालाई कीर्तिपुर–४ स्थित थापागाउँ खरिबोट कुलो निर्माण गर्न चन्द्रागिरिले सो रकम उपलब्ध गराएको हो । गत असोज १०, ११ र १२ गतेको अविरल वर्षाबाट सो कुलो क्षति भएको जनाइएको छ ।

यसैगरी पिपलामोड–निशाकोट–डुडेभञ्जाङ सडक स्तरोन्नती गर्न धुनिवेशी नगरपालिकालाई चनपाले उक्त रकम उपलब्ध गराएको हो । चन्द्रागिरि–२ र धुनिवेशी–९ को सीमानामा सो सडक रहेको छ ।

दक्षिणकाली नगरपालिका वडा ८ स्थित टिमुरबोट–ओबी डाँडा–घँङ्गेरी हुँदै फास्टट्र्याक जोड्ने मोटरबाटोका लागि चनपाले दश लाख रुपैयाँ उपलब्ध गराएको हो ।

यसका लागि चन्द्रागिरि नगरपालिकाले तीनवटै नगरपालिकासँग सम्झौतामा हस्ताक्षर गरीसकेको छ ।

चन्द्रागिरिमै आयोजित एक कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले कीर्तिपुर, धुनिवेशी र दक्षिणकाली नगरपालिकाका नगर प्रमुखसँग द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरे ।

सो अवसरमा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, नगर प्रवक्ता कृष्ण प्रसाद खड्गी लगायतको उपस्थिति रहेको थियो ।

Categorized in स्थानीय
SKIP THIS buddhan jayanti 2082