arin enterprises

दोलखामा मच्छिन्द्रनाथको रथ खुड्किलोबाट तल तानियो

SamacharDesk – समाचार श्राेतः रेखा शाक्य | २०८१ बैशाख १७, सोमबार

दोलखा रातो मच्छिन्द्रनाथको जात्राको क्रममा आज फेरीसेंगः टोलबाट रथलाई खुड्किलाहरुबाट तल तानिएको छ ।

हिजो खुड्किलोबाट माथि तान्दै सेंगु टोल पुर्‍याइएको रथलाई आज फेरी ६० डिग्रिको खुड्किलोबाट तल दुङ्गल टोल पुर्‍याउँदै आजको जात्रा सम्पन्न भएको हो ।

यस अघि हिजो टसिचा टोलबाट रथयात्रा शुरु गर्दै खुड्किलोहरुबाट माथि तान्दै रथलाई सेंग टोल पुर्‍याइएको थियो ।

दोलखाको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा यसरी रथलाई खुड्किलाबाट माथि तान्ने र तल तान्ने दिनलाई विशेष आकर्षणको रुपमा लिने गरिन्छ ।

यो जात्रा हेर्न काठमाडौं, भक्तपुर, ललितपुर, कीर्तिपुर, धुलिखेल, बनेपा लगायतका स्थानबाट मान्छेहरु दोलखा पुग्ने गर्छन् । ललितपुरका केही स्थानीय बासिन्दा यस जात्रामा नामसंगति पाठ साथै भजन गर्न जाने गरेका छन् ।

विगतमा रातो मच्छिन्द्रनाथको रथ यसरी खुड्किलाबाट माथि वा तल तान्ने परम्परा नभएको र पछि माथि टोलका बासिन्दाले मच्छिन्द्रनाथको रथ आफ्नो टोलमा तानेर ल्याएमा सुनको फुल चढाउने वचन दिएपछि यस परम्पराको सुरुवात भएको स्थानीय बुढापाकाहरु बताउँछन् ।

दोलखाको कुनै पनि जात्रापर्वमा शहनाई अनिवार्य बजाउनुपर्ने मान्यता छ ।

गत बैशाख ११ गते मच्छिन्द्रनाथको महास्नानपछि दोलखामा मच्छिन्द्रनाथको रथयात्रा औपचारिक रुपमा सुरु भएको थियो ।

दोलखामा यो जात्रा चैत्र पुर्णिमाबाट सुरु गरी नौ दिनसम्म मनाइन्छ ।

दोलखाको रातो मच्छिन्द्रनाथको रथयात्रा वि.सं. १५७५ मा राजा नन्ददेवले सुरु गरेको मानिन्छ । 

Categorized in संस्कृति