arin enterprises

चथाः पर्व र गणेश चर्तुर्थी मनाईंदै

SamacharDesk – राम डंगोल | २०८१ भाद्र २२, शनिबार

नेवार समुदायले आजको दिन चथाः पर्व रुपमा मनाईंदैछ ।

सानो दशैंको रुपमा पनि मनाइने यस पर्वमा चन्द्रमालाई चोर देवताको रुपमा पूजा गरेर मनाइन्छ । आज चन्द्रमा हे¥यो भने चोर दोष लाग्छ भन्ने जनविश्वास रहेको छ ।

आज बेलुकी टोलटोलमा कुकुर भुकेपछि कौसीको एक कुनामा लिपपोत गरेर कमलको पात विछ्याएर कमलको फुल, चथास्वाँ, अदुवासहितको विरुवा, आरुको बियाँलगायत विभिन्न भुटेका गुडागुडी, समयबजी, लगायत चढाएर चन्द्रमाको पूजा गरिन्छ ।

यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन पनि रहेको छ । यो परिकार भटमास, चना, मकै गहूँ बकुल्ला र बदाम लगायतका गेडागुडीलाई भेटेर तयार गरिन्छ ।

आपसमा बाँडेर खानुअघि गणेशलाई चढाउने प्रचलन छ । आजको दिन पानी प¥यो भने दशैंमा पनि पानी पर्ने जनविश्वास रहेको छ । आजै भगवान गणेशको जन्मदिनको रुपमा गणेश चर्तुर्थी पनि मनाईंदैछ ।

शिव र पार्वतीका पुत्रका रूपमा यो दिन गणेशजीको उत्पत्ति भएको पुराणमा उल्लेख छ। भगवान् गणेश सबै काममा बिघ्न हटाउने अर्थात् बिघ्नहर्ताका रूपमा पुजिन्छन्।

हिन्दूधर्ममा गरिने सम्पूर्ण पूजाआराधनामा पहिले उनैको पूजा गरिन्छ। गणेशको पूजा नगरी वा उनलाई नसम्झी गरेका कार्यमा विघ्न पर्छ भन्ने विश्वास छ।

सनातन समाजमा कुनै काम शुरु गर्दा ‘श्रीगणेश गरेको’ भन्ने चलन छ। ठूलो भुँडी भएकाले लम्बोदर, हात्तीको आकृतियुक्त मुहार भएकाले गजानन, विघ्न हटाउने भएकाले विघ्ननाशक, गणका पति भएकाले गणपति, सबै देवताका प्रिय भएकाले सुरप्रिय र विनायकजस्ता अनेकौँ नामले गणेश पुजिन्छन्।

सूर्यविनायक, चन्द्रविनायक, जलविनायक, चारुविनायक, अशोकविनायक, मरुविनायक र कमलविनायक लगायत काठमाडौं उपत्यकाका गणेश मन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ।

Categorized in संस्कृति