‘छंगु ल्यू ल्यू वयाः’ सार्वजनिकः भिडियाेसहित
SamacharDesk – बिराज | २०८१ भाद्र २३, आइतबार

अमर चित्रकार र सरीता महर्जनबाट स्वरबद्ध नेपालभाषाको गीत ‘छंगु ल्यू ल्यू वयाः’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
शनिवार वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितीमा काठमाडौं सम्पन्न एक कार्यक्रममा उक्त म्यूजिक भिडियोको प्रिमियर गरिएको हो ।
कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार श्रेष्ठले नेपालभाषाको संगीत क्षेत्रमा निरन्तर नयाँ नयाँ कृतिहरु सार्वजनिक भइरहेकोमा खुसी व्यक्त गरे ।
सार्वजनिक भएको गीत ‘छंगु ल्यू ल्यू वयाः’ लाई भुपेन्द्र बज्राचार्यले संगीत दिएका छन् भने यसै गीतका गायक अमर चित्रकारले शब्द रचना गर्नुका साथै छायाङ्कन र दृश्य सम्पादन समेत गरेका छन् ।
मन्तव्यको क्रममा चित्रकारले १७ वर्षको अन्तराल पछि आफुले गाएको गीत सार्वजनिक भइरहँदा निकै खुसी लागीरहेको बताए ।
‘पहिला त म गीत गाउने नै गर्थें । पछि आएर मेरो हातमा क्यामेरा पर्यो र गायनले विश्राम लियो । आज १७ वर्ष पछि आफुले गाएको गीत सार्वजनिक भइरहँदा खुसीको सिमाना छैन’ चित्रकारको भनाई हो ।
गायिका सरिता महर्जनले नेपालभाषाको संगीत क्षेत्रलाई आफुले सक्दो टेवा दिन खोजिरहेको र यस क्षेत्रमा सकेसम्म सक्रिय भइ नै रहने बताए ।
म्यूजिक भिडियो निर्देशक रवि सायमिले समग्र नेवाः समुदाय र कला प्रेमीहरुले नेपालभाषाको कला क्षेत्रलाई माया र टेवा दिन आग्रह गरे ।
म्यूजिक भिडियोमा वर्तमान समयमा लोकप्रिय कलाकार जोडी मनोज महर्जन र नेरिशा महर्जनले अभिनय गरेका छन् भने कोरियोग्राफी कृष्णभक्त महर्जनले गरेका छन् ।
गीतका शब्दहरुमा काठमाडौंका विभिन्न स्थानको मौलिक नामहरु उजागर गर्न खोजिएको छ । यो म्यूजिक भिडियो आरबि म्यूजिक नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
Categorized in पेजथ्री