उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन
SamacharDesk | २०८० मङ्सिर ४, सोमबार
उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिई चार दिन लामो छठ पर्वको आज बिहान सम्पन्न भएको छ ।
सूर्यदेवलाई बिहानै अर्घ्य चढाएसँगै विधिपूर्वक रुपमा छठ पर्व सम्पन्न भएको हो । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिइएको थियो ।
छठको पहिलो दिन नहाय खाय र दोस्रो दिन खरना गरेका व्रतालुहरुले आईतवार अस्ताउँदो सूर्यदेवलाई अर्घ्य चढाएका थिए । रातभर घाटमै पूजापाठ गरी आज उदाउँदो सूर्यदेवलाई अघ्र्य दिएका हुन् ।
छठ हिन्दुहरुको एक महत्वपूर्ण पर्व हो । सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ मनाउने परम्पराको शुरुवात भएको धार्मिक विश्वास छ ।
धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावको रुपमा समेत विकसित छठ पर्व हिन्दु सँगसँगै मुस्लिमले पनि मनाउने गर्छन् ।
छठ मनाउन काठमाडौं लगायत देशभरका नदी, तलाउ, पोखरीहरुमा ठूलो भीड लागेको थियो ।
काठमाडौं उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहना पोखरी, नाग पोखरी, शङ्खमुल, कुपण्डोल, बोजे पोखरी, थापाथली, वाग्मती, विष्णुमती, नख्खु नदी किनार लगायतका स्थानहरूमा पनि छठी घाट निर्माण गरी जल एवं सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो ।
Categorized in संस्कृति