arin enterprises

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ सम्पन्न

SamacharDesk – बिराज | २०७९ कार्तिक १४, सोमबार

छठ पर्वको आज अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिँदै पर्वको समापन गरिएको छ । हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसेका व्रतालुहरुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिँदै पर्वको समापन गरेका हुन् ।

नजिकको नदि किनार, पोखरी, तलाउलगायतका जलाशयमा गई व्रतालुहरुले सूर्यलाई अर्घ्य दिएका हुन् । हिजो व्रतालुहरुले निर्जल र निराहार व्रत बस्दै अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।

कार्तिक शुक्ल चतुर्थीबाट सुरु हुने छठ पर्व कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न हुने गर्दछ ।

मिथिलाञ्लचको प्रमुख पर्व मानिने छठमा विशेष गरी जनकपुरधाम, वीरगञ्ज लगायतका तराईका विभिन्न स्थानमा रौनक देखिने गर्दछ ।

पछिल्लो समय पहाडी भूभाग र काठमाडौं उपत्यकामा पनि धुमधामका साथ यो पर्व मनाउन थालिएको छ ।

काठमाडौंको कमलपोखरी, थापाथली, गुह्येश्वरी, गौरीघाट ललितपुरमा कुपण्डोल, नख्खु लगायतका स्थानमा भेला भई व्रतालुहरुले सूर्यलाई अर्घ्य दिएका थिए ।

व्रतालुले अर्घ्य दिँदा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिइ आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवानले सूर्य नारायणलाई अर्घ्य दिने गर्दछन् ।

अर्घ्यमा ठेकुवा, कसार, केरा, उखु, मेवा, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने गरिन्छ ।

कार्तिक शुक्ल चतुर्थीमा पहिलो दिन ‘नहाय खाय’ विधि गर्दै पर्वको सुरुवात गरिन्छ ।

यो पर्वमा विशेष गरी सूर्यको उपासना गरिन्छ । छठ पर्वमा सूर्यको उपासना गर्दै अर्घ्य दिँदा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

महाभारत कालमा द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र त्यसै समयबाट छठ मनाउने परम्पराको थालनी भएको विश्वास गरिन्छ ।

मधेश प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन आज पनि सार्वजनिक बिदा दिएको छ ।

Categorized in संस्कृति