कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा दिने लक्ष्यमा क्षेत्रपाटी निःशुल्क अस्पताल
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०८० माघ ७, आइतबार

काठमाडौंको भित्रि वस्तीभित्र स्वास्थ्य सेवा भनेको एउटा ठुलै समस्याको रुपमा रहेको छ । काठमाडौंको भित्रि वस्तीसँगै जोडिएको महाबौध्दमा बीर अस्पताल त छ तर, देशैभरीको विरामी आउने अस्पतालमा हुने भीडका कारण सेवा पाउन निकै बेर कुर्नुपर्ने भोगाई पनि धेरैको छ ।
नजिकै अरु ठुला अस्पताल छैन । प्राइभेट अस्पताल वा क्लिनिकमा भए खर्च उत्तिकै लाग्ने । ‘यस्तो अवस्थामा काठमाडौंको भित्रि वस्तीमै एउटा सुविधायुक्त अस्पताल संचालनमा आए समस्या धेरै हदसम्म कम हुन सक्थ्यो’ यस्तो सोच काठमाडौंको पुरानो वस्तीमा बस्दै आएका स्थानीय सबैको छ ।
रेडियोलोजिस्ट डा. मनोजमान श्रेष्ठले पनि यस्तै सोच राखेको धेरै भइसक्यो । डा. श्रेष्ठले यस्तो सोचेनन् मात्रै, समस्याको समाधान दिन लागि नै परे । यसैको नतिजा भन्नुपर्छ क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयको निर्माणाधीन माउ बद्री भवन ।
कम अथवा भनौं किफायती शुल्कमै उच्चस्तरीय सेवा सुविधा दिने सोच लिएर डा. मनोजसँगै उनको समूह अहिले क्षेत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालमा बद्री माउ भवनको निर्माणमा लागिरहेका छन् ।
भवनको निर्माणको क्रममा अहिले यसै भवनको दुई वटा तलामा मोटरसाइकलको लागि पार्किङ सुरु गरिएको छ । आज आइतबारबाट सेवा लिन अस्पताल पुग्ने सेवाग्राहीले निर्माणाधीन भवनमा आफ्नो मोटरसाइकल वा स्कुटर पार्किङ गर्न सक्ने भएको छ ।
हुनत, केही दिन अघि नै काठमाडौं महानगरपालिकाका प्रवक्ता साथै १७ वडाका वडाध्यक्ष नवीन मानन्धरले पार्किङ स्थलको समुद्घाटन गरेका थिए । तर त्यो समयमा केही प्राविधिक समस्या देखिएपछि समस्याको समाधान गरेर आजबाट पार्किङ सुरु गरिएको हो ।
आज आइतबारबाट संचालनमा आएको दुई तलाको पार्किङ स्थलमा चार देखि पाँच सय वटा मोटर साइकल पार्किङ गर्न सकिने बताइएको छ । हाललाई मोटरसाइकल मात्र पार्किङ गर्न दिइने र चार पांग्रे सवारीको लागि पछि व्यवस्था गरिने क्षेत्रपाटी निःशुल्क चिकित्सालय अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले बताए ।
पार्किङ स्थल संचालन भएसँगै हाल संचालनमा रहेको अस्पताल भवनबाट केही सुविधा र सेवाहरु थप गर्न लागिएको पनि डा. श्रेष्ठले जानकारी दिए ।
‘अहिले नयाँ भवनमा पार्किङ सुरु भएसँगै पुरानो ठाउ केही खुला भई केही नयाँ सुविधा वा सेवाको व्यवस्थापन गर्न पनि सहज भएको छ । पार्किङले सेवाग्राहीलाई सहज त हुने भइहाल्यो, साथमा केही नयाँ सेवा, सुविधा पनि थप्न हामीले योजना बनाइरहेका छौं’ डा. श्रेष्ठले भने ।
नयाँ भवन संचालनमा आएपछि कुनै पनि प्रकारको स्वास्थ्य सेवाको लागि टाढा धाउनु नपर्ने अवस्था श्रृजना गर्ने योजनामा आफु रहेको उनले बताए ।
‘आर्थिक अभावकै कारण कोही पनि उपचारबाट बन्चित रहन नपरोस् भनेर नै हामी लागिरहेका हौं । आज पार्किङ संचालनमा आयो, चाँडै नै यो निर्माणाधीन माउ बद्री भवन पनि निर्माण सम्पन्न गरी संचालनमा ल्याउन हामी रातोदिन खटिरहेका छौं’ डा. श्रेष्ठले भने ।
हाल १५ करोडको लागतमा भवनको पूर्वाधार तयार भइसकेको छ । चन्दा र विभिन्न दाताहरुको सहयोगबाट नै भवनको निर्माण कार्य भइरहेको डा. श्रेष्ठले जानकारी दिए ।
‘हाम्रो आर्थिक श्रोत भनेकै समाज नै हो । स्थानीय सरकारबाट प्राप्त १० करोड र अर्को ५ करोड गरी १५ करोडबाट भवनको पूर्वाधार तयार भयो । अब अरु सहयोगको लागि पनि हामी काम गर्दैछौं’ श्रेष्ठले जानकारी दिए ।
‘भन्ते, गुरुमांहरुप्रति हाम्रो आस्था पनि छ, विहारबाट प्राप्त सहयोगको कदर स्वरुप पनि भन्ते, गुरुमांहरुलाई दन्त सेवा र शल्यक्रिया बाहेक सम्पूर्ण सेवा निःशुल्क दिनेछौं । यसरी नै अरु संघसंस्थाबाट आएको सहयोगको पनि हामी कदर गर्नेछौं’
३५ करोड रुपैयाँको अनुमानित बजेट अनुसार अस्पतालको माउ बद्री भवनको निर्माण कार्य भइरहेको छ । यसको लागि तत्कालीन कामपा प्रमुख विद्यासुन्दर शाक्यको पालामा ५ करोड रुपैयाँ बजेट उपलब्ध गराइएको थियो भने वर्तमान प्रमुख बालेन्द्र साहले ५ करोड उपलब्ध गराएका थिए ।
त्यसैगरी विभिन्न संघसंस्था, व्यक्तिबाट पनि आर्थिक सहयोग प्राप्त भइरहेको र धर्मकीर्ति श्रीघः विहारबाट पनि सहयोग प्राप्त भएको डा. श्रेष्ठले जानकारी दिए । चाँडै नै धम्मावति गुरुमांको नामबाट अक्षय कोष संचालन गर्न लागेको पनि श्रेष्ठले बताए ।
‘भन्ते, गुरुमांहरुप्रति हाम्रो आस्था पनि छ, विहारबाट प्राप्त सहयोगको कदर स्वरुप पनि भन्ते, गुरुमांहरुलाई दन्त सेवा र शल्यक्रिया बाहेक सम्पूर्ण सेवा निःशुल्क दिनेछौं । यसरी नै अरु संघसंस्थाबाट आएको सहयोगको पनि हामी कदर गर्नेछौं’ श्रेष्ठले भने ।
वि.सं. २०१३ सालमा समुदायको पहल र सक्रियतामा क्षेत्रपाटी निःशुल्क चिकित्सालयको स्थापना भएको थियो । चिकित्सालयको रुपमा सेवा दिँदै आएकोमा पछिल्लो समय सेवा सुविधाहरु थप गर्दै क्षेत्रपाटी निःशुल्क चिकित्सालय अस्पताल बनेको छ ।
अत्याधुनिक स्वास्थ्य उपकरणसहित उच्चस्तरीय सेवा किफायती शुल्कमा दिने भन्दै अहिले अस्पतालको नयाँ भवन माउ बद्री भवन निर्माणाधीन अवस्थामा छ ।
Categorized in समाज