चिनियाँ संस्थाबाट विद्यार्थीहरुलाई खाद्यान्न सहयोग
SamacharDesk – बिराज | २०७७ फाल्गुण ३, सोमबार

चिनियाँ संस्था चाईना फाउन्डेसन फर पोभर्टी एल्लेभिएसनले सामुदायिक विद्यालयका १ हजार ८ जना विद्यार्थीहरुलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग प्रदान गरेको छ ।
फाउन्डेसनले चिनियाँ वसन्त महोत्सवको अवसरमा स्माईलिङ चिल्ड्रेन कार्यक्रम अन्र्तगत काठमाडौंको नागार्जुन नगरपालिकाका चार वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सो सहयोग प्रदान गरेको हो ।
अमरज्योति विद्यालय, सीताराम माध्यमिक विद्यालय, रत्नराज्य माध्यमिक विद्यालय र जनउद्धार माध्यमिक विद्यालयमा खाद्यान्न सामग्री प्रदान गरिएको थियो । पूर्व प्राथमिकदेखि कक्षा ५ सम्म अध्ययनरत प्रति विद्यार्थीलाई एक बोरा चामल, तीन किलो दाल, र तेल प्रदान गरिएको थियो ।
अलिबाबा फिलोन्थ्रोपीसंगको सहकार्य र राष्ट्रियता अपांगता पूर्ण समाजको समन्वयमा फाउन्डेसनले विद्यार्थीहरुलाई उक्त सहयोग प्रदान गरेको हो ।
सीताराम विद्यालयमा आयोजित कार्यक्रममा वाग्मती प्रदेशका सासंद केशव पोखरेल, नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी, विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर थापा लगायतले सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
यस अघि सो संस्थाले लकडाउनको समयमा चन्द्रागिरी नगरपालिका र नागार्जुन नगरपालिकामा रहेका १२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खाद्य सामग्री वितरण गरेको थियो ।
स्माईलिङ चिल्ड्रेन प्रोगाम अन्र्तगत हालसम्म १५ हजार बालबालिकाहरु लाभान्वित भइसकेका छन् ।
Categorized in समाज