arin enterprises

भारतको चम्पारणमा फेला पर्यो दुईवटा शव

SamacharDesk | २०८१ श्रावण ४, शुक्रबार

चितवनको नारायणगढ–मुग्लिन खण्डको सिमलताल  पहिरोमा परी बेपत्ता भएका बसका २ जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ ।

त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये अहिलेसम्म २३ जनाको शव फेला परेको छ । भारतमा फेला परेको २ जनाको शव भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले फेला पारी आज नेपाल ल्याइएको छ ।

शवको सनाखत भने हुन सकेको छैन । सशस्त्र प्रहरीका अनुसार बिहिबार राति करिब साढे ९ बजेको समयमा भारतको चम्पारण नगाहास्थित नारायणी नदीमा २ वटा शव फेला परेको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसमा टिकट काटेका २७ र अन्य ११ गरी ३८ तथा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसमा टिकट काटेका २३ र अन्य चार गरी जम्मा २७ जना यात्रु सवार रहेका प्रहरीले जनाएको छ ।

टिकट नकाटी बसमा यात्रा गरेका यात्रीका आफन्तजनले दुर्घटनापछि प्रहरीमा आफन्तको विवरण उपलब्ध गराएका थिए । दुई बसमा ६५ यात्रु सवार रहेका खुलेको छ ।

प्रहरीका अनुसार आज विहानसम्म १५ जनाको सनाखत भएको छ । आठ पुरुष र एक महिला गरी नौ शवको सनाखत हुन सकेको छैन ।

फेला परेका शव चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा, त्रिवेणी व्यारेज क्षेत्रलगायत घटनास्थलबाट तटीय क्षेत्रमा फेला परेका हुन् ।

गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमति प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमति प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

Categorized in राष्ट्रिय