arin enterprises

नेवाः फिल्म सोसाइटीको छायाङ्कन तालीम सुरु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ जेठ ९, शनिबार

नेवाः फिल्म सोसाईटीको आयोजनामा काठमाडौंमा ५ दिने चलचित्र छायाङ्कन तालीम र कार्यशाला गोष्ठी सुरु भएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसिले कार्यशालाको उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष डिसिले नेपालको आदिवासी जनजाति चलचित्रको उत्थान र संरक्षणका लागि बोर्ड निरन्तर रुपमा सक्रिय रहेको दावी गर्दै आलोचनामा मात्र गरेर बस्ने प्रवृत्ति छोडेर आफ्नो समुदाय र मातृभाषी चलचित्रलाई टेवा दिन अग्रसर हुन आह्वान गरे ।

‘सरकारकै सहयोगबाट विभिन्न कार्यक्रमहरु संचालन गरिरहेका हुन्छन्, फेरी तिनैले सरकारले वास्ता गरेन भनेर गुनासो पोखिरहन्छन् । फेसबुक वालमा लेखेर रमाइरहनु भन्दा सम्वन्धित निकायसँग सहकार्य गर्दै अगाडी बढे समस्याको समाधान पाइनेछ’ अध्यक्ष डिसिले भने ।

वरिष्ठ दृश्य सम्पादक माणिक उराय् र वरिष्ठ निर्देशक प्रकाश सायमिले यस किसिमको कार्यशालाबाट आर्जन गरेको ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गरी नेवाः चलचित्र क्षेत्रको उत्थानमा टेवा दिन आग्रह गरे ।

सोसाइटीका निवर्तमान अध्यक्ष बिराजकाजी राजोपाध्यायले नेवाःसाथै समग्र मातृभाषी चलचित्र क्षेत्रमा नीतिगत तहमा भोग्दै आएको समस्याको चर्चा गर्दै मूलधार भनिएको व्यावसायिक चलचित्रको बजार र मातृभाषी चलचित्रको बजारलाई एउटै दृष्टिकोणले हेर्न नमिल्ने विचार राखे ।

सोसाइटीका अध्यक्ष लुःजः सिंहले सोसाइटीले यहि असार भित्रै चलचित्रमा संचार क्षमता विकास तालीम, छायाङ्कनको बृहत तालीम, उद्घोषण तालीमको आयोजना गर्न लागेको जानकारी दिए ।

सोही कार्यक्रममा सोसाइटीका आजीवन र साधारण सदस्यहरुले परिचय पत्र वितरण गरिएको थियो । साथै संस्थाका सल्लाहकारत्रय नीर शाह, माणिक उराय् र प्रकाश सायमिलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

आउँदो मंगलवारसम्म हुने कार्यशालामा सिनेमाटोग्राफरत्रय दिपक बज्राचार्य, लुःजः सिंह, गौतम श्रेष्ठ, फोटोग्राफर अमरेन्द्र श्रेष्ठ र निर्देशक योवन शाक्यले प्रशिक्षण दिने लागेका छन् ।

Categorized in पेजथ्री