स्टार म्यूजिक भिडियो अवार्डका सहभागीलाई प्रमाण पत्र वितरण
SamacharDesk – बिराज | २०७९ आश्विन १४, शुक्रबार

नेपालभाषाको सबैभन्दा ठुलो र लामो अवार्ड दावी गरिएको नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डस्को दोश्रो संस्करणका सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।
संसार क्रिएशनले ललितपुरमा एक कार्यक्रमको आयोजना गरी नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड्स २०७९ का सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेको हो ।
कार्यक्रममा अवार्ड्समा सहभागी ८५ वटा म्यूजिक भिडियोका प्रतिनिधिहरुलाई वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले खादा ओढाए भने ललितपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष रविन्द्र महर्जनले प्रमाण पत्र प्रदान गरे ।
कार्यक्रममा बोल्दै आयोजक संस्था संसार क्रिएशनका क्रिएटिभ डाइरेक्टर स्वतन्त्र संसार महर्जनले विश्वकै बढी संख्यामा प्रदान गरिएको अवार्डको रुपमा विश्वब्यापी रेकर्ड बनाई नेपालभाषाको कला र नेपालको नाम विश्वसामु चिनाउने लक्ष्य लिएको बताउनुभयो ।
अवार्ड पहिलो संस्करणको समयमा पनि विश्व रेकर्डको लागि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन प्रयत्न गरेको तर कोभिड १९ महामारीका कारण पूर्ण रुपमा मूल्याङ्कनमा बाधा पुग्न गएको डाइरेक्टर महर्जनको भनाई थियो ।
यस पटक पूर्णता मिलेर उद्देश्य प्राप्त हुनेमा आफु विश्वस्त रहेको र सोही अनुसार तयारी गर्दै गरेको महर्जनले भने ।
संसार क्रिएशनकी संस्थापक साथै फाइनान्स मेनेजर प्रेमा महर्जनले नेपालभाषा चलचित्र ईतिहासमा सबैभन्दा धेरै विधाहरुमा अवार्ड वितरण गरिने यो पहिलो र एक मात्र नेपालभाषा म्युजिक भिडियो अवार्ड भएको दावी गर्दै अवार्डले सर्जकहरुलाई अझ जिम्मेवारीका साथ यो क्षेत्रलाई निरन्तर अगाडि बढाउन प्रेरीत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
ललितपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष महर्जनले कला र सर्जक देशको गहना भएको भन्दै कला र कलाकारको प्रोत्साहनको लागि आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।
अवार्डको सर्वोत्कृष्ट श्रष्टा चयनका लागि ९ सदस्यीय निर्णायक मण्डल रहने बताइएको छ । निर्णायक मण्डलको निर्णय साथै अनलाईन र एसएमएस भोटको आधारमा उत्कृष्ट श्रष्टा चयन गरीने आयोजक संस्थाले बताएको छ ।
प्रमाण पत्र वितरण कार्यक्रममा वरिष्ठ निर्देशक पवन जोशी, निर्देशक साथै कलाकार रामकृष्ण खड्गी, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजबीर बज्राचार्य, पत्रकार बिराजकाजी राजोपाध्याय लगायतको उपस्थिती थियो ।
Categorized in पेजथ्री