arin enterprises

विवादित नागरिकता विधेयक पारित

SamacharDesk | २०७९ श्रावण ७, शनिबार

धेरै नै विवादित भएको नागरिकता विधेयक अन्ततः प्रतिनिधिसभाको बैठकबाट पहिलो संशोधन विधेयक २०७९ बहुमतले पारित भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक छलफलका लागि सदनमा प्रस्तुत गर्नुभएकोमा संसदको बहुमतले विधेयक पारित गरेको हो ।

विधेयकमा जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने प्रावधान राखिएको छ ।

नेपालको संविधान २०७२ जारी हुनुपूर्व जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछन् ।

यस्तै बाबुको पहिचान नखुलेकाहरुले पनि वंशजकै नागरिकता पाउने छन् । विधेयकमा एनआरएनएलाई राजनीतिक अधिकारबाहेकका अन्य अधिकार दिनेगरी नागरिकता दिने प्रावधान राखिएको छ ।

उनीहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता उपलब्ध गराउने प्रावधान राखिएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका ४५ जना सांसदले ९४ वटा विषयमा संसोधन प्रस्ताव राखेका थिए ।

भीम रावल, लालबाबु पण्डित, शेरबहादुर तामाङ, झपड रावल, देव गुरुङ, दुर्गा पौडेल, प्रेम सुवाल लगायतका सांसदहरुको प्रस्ताव अस्वीकृत भएको हो ।

यसैबीच, बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलालाई निरन्तर रूपमा सात वर्ष नेपालमा बसोबास गरेपछि मात्रै अंगीकृत नागरिकता दिने व्यवस्था हुनुपर्ने माग राखेको थियो ।

Categorized in राष्ट्रिय