arin enterprises

काश्मिरमा चरमपंथीहरूबाट आम नागरिकको हत्या

SamacharDesk – बिराज | २०७८ कार्तिक २३, मंगलबार

भारत प्रशासित कश्मीरमा चरमपन्थीहरुले फेरी एक आम नागरिकको हत्या गरेका छन् ।

काश्मीरको श्रीनगरमा एक पुलिसकर्मीको हत्याको एक दिन पछि सोमबार साँझ फेरी एक आम नागरिकको हत्या गरिएको हो । ४५ वर्षीय मोहम्मद इब्राहिम खानलाई छाती र पेटमा गोली हानी हत्या गरिएको हो ।

गोली लागेपछि उपचारको लागि अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

बान्दीपोराको अशतिंगु गाउँका वासिन्दा खान श्रीनगरको बोहरी कदाल इलाकामा रोशन लाल मावा नामक व्यक्तिको किराना पसलमा सेल्सम्यानको काम गर्थे । 

कडा सुरक्षा व्यवस्था गरिएको श्रीनगरमा २४ घण्टा भित्रमा दुई जनाको हत्या भएको हो । घटना पछि यहाँ सुरक्षा व्यवस्था झन कडा बनाइएको छ ।

गत आइतबार मात्रै श्रीनगरको बटमालू इलाकामा चरमपंथीहरुले एक प्रहरीको गोली हानी हत्या गरेका थिए ।

Categorized in अन्तर्राष्ट्रिय