जेनजी आन्दोलनपछि बन्द हायात चाँडै सञ्चालनमा आउने
SamacharDesk – बिराज | २०८२ कार्तिक ९, आइतबार
जेनजी आन्दोलन पछि बन्द रहेको पाँच तारे होटल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौँ) सन्चालनमा आउने भएको छ ।
आज (आइतबार) होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले विज्ञप्ती जारी गर्दै जेनजी आन्दोलनका क्रममा होटलमा ठूलो क्षति भएको उल्लेख गर्दै पुनर्निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने बताएका हुन् ।
कार्यकारी निर्देशक श्रेष्ठद्वारा जारी विज्ञप्तिमा होटलमा भएको क्षतिका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारबाट आवश्यक साथ सहयोग दिने भनी दिनुभएको आश्वासनप्रति आभार व्यक्त गरिएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा होटलमा भएको क्षतिको मूल्यांकन भइरहेको र पुनर्निर्माणपछि पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्पसहित सञ्चालन हुने विज्ञप्तिमा उल्लेख गरेको हो ।
आन्दोलनका क्रममा होटलमा भएको तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापबाट होटलका अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेष्टुरेन्ट, बैंक्वेट, चैत्यसहित होटलको समष्टिगत संरचनामा ठूलो क्षति पुगेको भनिएको छ ।
‘हाल क्षतिको पूर्ण मूल्याङ्कनपछि होटल स्तरोन्नति र पुनर्निर्माण गरी अझ विस्तारित र उत्कृष्ट सेवासहित यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ।
स्तरोन्नति र पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने होटलको भनाइ छ ।
आगामी दिनमा सरकारको राजश्व स्रोतमा वृद्धि गरी मुलुकको आर्थिक विकासमा थप योगदान पुर्याउने र नेपालको फ्ल्यागशिप होटलको अभिभारा बोक्दै पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्पसहित सञ्चालन हुने प्रतिबद्धता समेत जनाइएको छ ।
होटल हालसम्म पर्यटन क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सात पटक र पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा सङ्कलन गर्ने होटलका रुपमा दुई पटक सम्मानित भइसकेको छ ।
Categorized in बिजनेस




