arin enterprises

कमेडियन अपूर्व उच्च अदालतबाट पनि दोषी ठहर

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ आषाढ २१, शनिबार

स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंह उच्च अदालत पाटनबाट पनि दोषी नै ठहर भएका छन् ।

जातीय भेदभाव तथा छुवाछूत र सार्वजनिक शान्तिविरुद्धको अभियोगमा उच्च अदालतले जिल्ला अदालतकै फैसला सदर गर्दै कमेडियन अपूर्वलाई दोषी ठहर गरेको हो ।

कमेडियन अपूर्वले एउटा स्ट्यान्ड अप प्रस्तुतिको क्रममा नेवार लवज, संस्कृति र जातीलाई व्यंग्य गरेको भन्दै सिंह मान नवीन, पृथविन्दु महर्जनलगायतले उनीविरुद्ध उजुरी गरेका थिए । उजुरी पछि उनलाई प्रहरीले २०७९ भदौ दोस्रो साता पक्राउ गरेको थियो ।

त्यो बेला उनलाई जिल्ला अदालत काठमाडौंले मुलुकी अपराध संहिताको दफा १६५ बमोजिम सामाजिक रितिथितिमा खलल पु¥याएको भन्दै दोषी ठहर गरेको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर गर्दै २ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको थियो ।

जिल्ला अदालतको फैसला चित्त नबुझेको भन्दै कमेडियन अपूर्वले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । उच्च अदालतमा पनि न्यायाधिस लेखनाथ पौडेल र कृष्ण राम कोइरालाको संयुक्त इजलासले कमेडियन अपूर्वको मुद्दामा जिल्ला अदालतकै फैसला सदर गरेको हो ।

कमेडियन अपूर्वले एउटा स्ट्यान्ड कमेडि प्रस्तुतिको क्रममा नेवार लवज, नेवार संस्कृति म्हपूजा, इहिको बारेमा कटाक्ष गर्दै कमेडि गरेका थिए । यस प्रस्तुतिबाट नेवार समुदाय र संस्कृतिको अपमान भएको भन्दै निकै विरोध भएको थियो । व्यापक विरोध भएपछि कमेडियनले उक्त भिडियो प्राइभेट बनाएका थिए । 

Categorized in समाज