arin enterprises

सुकुम्वासी समस्या समाधानमा सघाउन कामपालाई आयोगको आग्रह

SamacharDesk – बिराज | २०८० जेठ ३०, मंगलबार

राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्लाका अध्यक्ष श्यामकृष्ण प्रजापतिले आफुले काठमाडौं महानगर भित्रका भूमिहीनहरुलाई भूमिपति बनाउन चाहँदा चाहँदै महानगरले प्रकृया बढाइ नदिँदा समस्या भएको बताएका छन् ।

नेवाः देय् दबू काठमाडौं महानगर समितिबाट आयोजित छलफल कार्यक्रममा बोल्दै अध्यक्ष प्रजापतिले सम्झौता भइसकेर पनि काठमाडौं महानगरले सम्झौता अनुसारको काम नगरी डोजर काण्ड मचाइदिँदा समस्या बढेको दावी गरे ।

‘सम्झौता पछि काठमाडौं महानगरले प्रकृया नबढाई डोजर लगेर के पाउँछ, समस्या समाधान हुन्छ ? झन बल्झिन्छ बरु । काठमाडौं महानगरपालिका समस्या समाधानमा भन्दा बल्झाउनमा लागेको पो देखियो’ प्रजापतिले भने ।

काठमाडौं महानगरपालिका भित्रका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि भनेर राष्ट्रिय भूमि आयोग र काठमाडौं महानगरपालिका बीच सम्झौता भइसकेको अवस्था छ ।

सो सम्झौता अनुसार कामपाले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन, छानविनदेखि भूमिको सिफारिससम्मको काम कामपाको अधिकार क्षेत्रमा पर्दछ ।

कामपाले भने हालसम्म सम्झौता अनुसारको कुनै प्रकृया अगाडी बढाएको छैन ।

पुस्तौंदेखि यहिँ बस्दै आएर पनि कागजात लगायत विभिन्न समस्याका कारणले भूमिहीनको अवस्थामा बस्नुपरेका स्थानीयले आफुलाई सुकुम्बासी भन्न कुनै अप्ठ्यारो मान्नुपर्ने स्थिती नभएको विचार प्रजापतिले राखे ।

देय् दबू काठमाडौं महानगर समितिले ‘आदिवासी नेवाःको भूमिसँग सम्वन्धित समस्या’ विषयक छलफल कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्ने क्रममा कतिपय स्थानीय भूमिहीनले आफुलाई सुकुम्वासी भन्दा अपमानित महसूस गरेको प्रसङ्ग कोट्याउँदै प्रजापतिले प्रश्न गरे, ‘आफ्नो थातथलोमै भूमिहीन भएर बस्नुपर्दा, आफ्नो पुख्र्यौली घरमै आफु सुकुम्वासी भएर बस्नुपर्दा यो जति ठुलो अपमान अरु के होला ?’

सुकुम्वासी भन्ने शब्द कुनै अपमानित शब्द नभई परिस्थितीवस् भूमिहीन बन्नुपरेको अवस्थालाई दर्शाउने भएकोले भूमिहीन स्थानीयले यस शब्दलाई अन्यथा नलिन आग्रह गरे ।

‘भूमि नहुनेलाई सुकुम्वासी भन्ने हो, अब भूमि पाइयो भने, भूमिपति बन्यो भने के को सुकुम्वासी ? भूमिहीन भएर जहिल्यै सुकुम्वासीकै जीवन विताउने हो कि सुकुम्वासीलाई राज्यबाट सुविधा लिएर भूमिपति बन्ने, आफ्नो इच्छा’ प्रजापतिले भने ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा २३ का वडाध्यक्ष मचाराजा महर्जनले भूमिहीन स्थानीय वासिन्दालाई शब्दमा अल्मलिँदै आएको मौका नगुमाउन आग्रह गरे ।

राज्यले एक पटकको लागि भनेर भूमिहीनलाई भूमिपति बनाउन योजना ल्याएको समयमा आफुलाई सुकुम्वासी भन्ने वा नभन्ने भन्दै अलमलिएर नबस्न वडाध्यक्ष महर्जनले आग्रह गरे ।

‘सुकुम्वासी भन्नाले भूमिहीन हो, जसको कुनै सम्पत्ति छैन । जब कसैसँग आफ्नो भन्ने केही सम्पत्ति छैन भने सुकुम्वासी वा स्वबासी जे भने पनि कुरो एउटै हो’ महर्जनले भने ।

महानगर भित्रका सुकुम्वासी समस्या समाधानका लागि सबै प्रकृया काठमाडौं महानगरपालिका केन्द्रबाटै सुरु गर्नुपर्नेमा केन्द्रले सो प्रकृया अगाडी नबढाइदिँदा आफुले चाहेर पनि केही गर्न नसकेको बाध्यता वडाध्यक्ष महर्जनले पोखे ।

नेवाः देय् दबूका केन्द्रीय उपाध्यक्ष उमेश स्थापितले सुकुम्वासी शब्दको इतिहास बताउँदै भूमिहीनले आफुलाई सुकुम्वासी भन्न लाज मान्नुपर्ने कुनै स्थिती नभएको विचार राखे ।

‘सुगौली सन्धिताका पुर्वी भारतमा परेको सुखुमका बासिन्दा भागेर यता आएपछि उनीहरुलाई सुखुमबासी भनियो । त्यहि सुखुमबासी शब्द पछि गएर भूमिहीनहरुका लागि सुकुम्वासी भनियो । अब भूमिहीन काठमाडौंबासीले आफुलाई सुकुमबासी भन्न के को लाज भयो ?’ उपाध्यक्ष स्थापितले भने ।

कार्यक्रममा कामपा २३ वडा भित्रका अभियानकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि साथै भूमिहीन स्थानीय वासिन्दा समेतको सहभागीता रहेको थियो ।

Categorized in समाज