यःमरिलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गर्न समुदाय सहमत
SamacharDesk – बिराज | २०८२ माघ २३, शुक्रबार
काठमाडौँ । नेवार समुदायको परम्परागत, मौलिक एवं सांस्कृतिक खाद्य परिकार यःमरिलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गर्न समुदायमा रहेका विभिन्न संघसंस्थाहरुले एउटै मत राखेका छन् ।
बुधबार काठमाडौँ महानगरपालिकाको सभा कक्षमा आयोजित सम्पदा तथा पर्यटन समितिका पदाधिकारी र समुदायका प्रतिनिधि बिचको छलफलमा यस्तो साझा स्वर आएको हो ।
‘हरेक शुभकार्यसँग जोडिएको यःमरिको महत्व र पहिचानलाई राष्ट्रियकरण गर्दै अभौतिक युनेस्कोको अभौतिक सम्पदा विधामा सूचीकृत गराउनु अन्तरराष्ट्रियकरणको प्रक्रिया भएको समितिका संयोजक आशामान संगतले बताए ।
‘यःमरिसँगै अनगिन्ती अभौतिक सम्पदामा सूचीकृत गर्नुपर्नेछ । यसले सम्पदाको एकीकृत विकासमा टेवा दिन्छ ।’ समिति संयोजक संगतको भनाई हो ।
त्यस क्रममा समितिका सदस्य एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले महानगरपालिकाका पुराना सहरी क्षेत्रका चोक चोकमा, गुठीगुठीमा, हरेक संस्कार र परम्परामा रहेका विभिन्न अमूर्त सम्पदाको गरिमा प्रवर्ध्दनमा सबै मिलेर काम गर्नुपर्ने धारणा राखे ।
युनेस्कोका अभौतिक सम्पदा विज्ञ डा. मोनालिसा महर्जनले सांस्कृतिक सम्पदाहरुको संवाहकका रुपमा रहेको भाषा, साहित्य, मौखिक परम्परा तथा अभिव्यक्ति अभौतिक सम्पदा हुने जानकारी दिए ।
‘अभिनय कला, सामाजिक व्यवहार, अनुष्ठान तथा चाडपर्वका उत्सव, प्रकृति र व्रह्माण्डसँग सम्बन्धित ज्ञान र व्यवहार तथा परम्परागत कला कौशल अभौतिक सम्पदा हुन् ।’ डा. महर्जनको भनाई हो ।
छलफलमा विभिन्न नेवाः जातीय संघसंस्थाका प्रतिनिधिहरुले आआफ्नो धारणा राखेका थिए ।
अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी महासन्धी २००३ मा भएको हो । नेपाल सन् २०१० मा पक्ष राष्ट्र भएको हो ।
यसअन्तर्गत आफ्नो देशभित्र रहेका अभौतिक सांस्कृतिक सम्पदाहरुको सूची तयार पार्नु, अनुसन्धान गर्नु, सुरक्षा, संरक्षण र प्रवर्धन तथा परम्परालाई निरन्तरता दिनु यसअन्तर्गतका महत्वपूर्ण कामहरु हुन् ।
चामलको पिठोको डल्लोलाई चैत्य जस्तो आकार दिइ त्यसभित्र तिल, चाकु राखी बफाएर बनाइने एक प्रकारको नेवार खाद्य परिकार हो यःमरि । हरेक वर्ष मंसीर शुक्ल पुर्णिमाको दिनमा नेवार समुदायमा यःमरि पकाएर खाँदै, बाँड्दै यःमरि पुन्हि पर्व मनाउने गरिन्छ ।
Categorized in स्थानीय




