arin enterprises

नेवाःको भविष्यको विषयमा समुदायको चिन्ता

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ पौष १३, मंगलबार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले विगतका दिनमा सम्पन्न र विकसित जातिको रुपमा रहेको नेवार समुदायको अवस्था अहिले पनि संकटमा पर्दै गएको विचार राख्नुभएको छ ।

आज काठमाडौंमा नेवाः जातिय महासंघबाट आयोजित ‘नेवाःको भविष्य’ विषयक विचार गोष्ठीमा मन्त्री श्रेष्ठले गोरखा राज्य विस्तारपछि सुरु भएको नेवारमाथिको भाषिक, आर्थिक, सामाजिक र राजनीतिक दमन आज पनि निरन्तर रहेको बताउनुभयो ।

‘गएका दिनमा विदेशमा मन्दिर, विहार, मूर्ति आदि बनाउनुपरे नेपालबाट कलाकार बोलाउने गथ्र्यो र त्यस्ता प्राय कलाकारहरु नेवार समुदायबाटै हुने गर्दथ्यो । तर, आज नेपालमा केही बनाउनुपरे भारतबाट कामदार झिकाउनुपर्ने अवस्था आयो’ श्रेष्ठले भन्नुभयो ।

अहिलेको संघीय शासनमा सबै जाती, सबै समुदायले साझा शासन चलाउन सकिने अवस्थामा अवसरको सदुपयोग गर्दै अघि बढ्न श्रेष्ठले सुझाव दिनुभयो ।

‘अहिले देशमा संघीय शासनमा हरेक जातिको पहिचान स्थापित हुने अवसर छ । विभिन्न स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रको रुपमा साझा शासन गर्न सक्ने अवसरलाई सदुपयोग गर्दै अब उत्पीडित समुदाय पनि अगाडी बढ्न सकिने समय छ’ मन्त्री श्रेष्ठले भन्नुभयो ।

त्यस्तै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अवसर भएको समयमा एक आपसमा दोषारोपण, विरोध गरेर बस्नुभन्दा अवसरको सदुपयोग गर्नमा लाग्न आग्रह गर्नुभयो ।

रानीपोखरी, कमलपोखरी लगायतका सम्पदा पुनर्निर्माणको प्रसङ्ग कोट्याउँदै मेयर शाक्यले कुनै ऐतिहासिक सम्पदाको पुनर्निर्माण, जिर्णोद्धार गर्न खोज्दा पूर्वाग्रह राखेर विरोध हुने गरेको दावी गर्नुभयो ।

‘कुनै सम्पदाको पुनर्निर्माण, जिर्णोद्धार गर्न खोज्दा विना कुनै जानकारी, अध्ययन विरोध गरेर रोक्ने गरिन्छ । यसबाट नोकसानी कसलाई हुन्छ ? हामी विरोध गरेर बस्नुभन्दा अहिले काठमाडौंको विकासमा लागौं न’ शाक्यले भन्नुभयो ।

रत्नपार्कमा गणेशमान सिंहको शालिक राखेकै समूहले शंखधरको शालिक राख्दा विरोध गरेको भन्दै शाक्यले राजनीतिक पूर्वाग्रहबाट माथि उठेर समुदायको स्वार्थमा लाग्न आग्रह गर्नुभयो ।

त्यस्तै नेवार आन्दोलनका अगुवा डा. महेशमान श्रेष्ठले कथित विकासको नाममा काठमाडौं उपत्यकामा नेवार समुदायलाई विस्थापित गर्ने काम भइरहेको बताउनुभयो ।

मेगा सिटी, स्मार्ट सिटीको नाममा नेवारलाई अल्पमतमा पार्ने र हरेक क्षेत्रबाट नेवारलाई विस्थापित गर्न खोजिरहेको श्रेष्ठको दावी थियो ।

‘अब मेगा सिटीको नाममा उपत्यकाको जनसंख्या एक करोड पुर्‍याइनेछ । एक करोडमा नेवारको संख्या ७ प्रतिशत हुनेछ र अल्पमतलाई बहुमतले शासन गर्न खोजिनेछ’ श्रेष्ठको भनाई थियो ।

आदिवासी अधिकारबारे सचेत हुन श्रेष्ठले नेवार समुदायलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा जातिय महासंघका अध्यक्ष मनोज नेवाः खड्गीले ‘नेवाःको भविष्य’ विषयमा महासंघको अवधारणा प्रस्तुत गर्नुभएको थियो । ५ पृष्ठको सो अवधारणा पत्रमा राज्यले नेवाः समुदायको भाषा र संस्कृतिपछि अब भूमि पनि खोस्न खोजेको दावी गरिएको छ ।

आफ्नो भाषा, संस्कृति र भूमिको संरक्षण गर्दै राजनैतीक रुपमा पनि सचेत भएर नेतृत्व लिन अघि बढ्न अध्यक्ष खड्गीले आग्रह गर्नुभयो । 

Categorized in समाज