arin enterprises

मातृभाषा संरक्षणको हतियार पत्रकारिता भएको अन्तर्राष्ट्रिय सम्मेलनको निष्कर्ष

SamacharDesk – बिराज | २०८२ पौष २१, सोमबार

दक्षिण एसियाका बहुभाषिक समाजमा लोप हुँदै गएका भाषा र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिकामा जोड दिइएको छ ।

भारतको नालन्दा खुल्ला विश्वविद्यालयमा सोमबार सम्पन्न अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनका वक्ताहरुले मातृभाषाको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेकोमा जोड दिइएको हो ।

सार्क जर्नलिस्ट फोरम ईन्टरनेशनको भारतस्थित विहार च्याप्टरले अमरपाली कला–साहित्य सम्मेलन तथा मानवअधिकार टुडेसंग सहकार्य गरी सो सम्मेलन आयोजना गरेको हो । सम्मेलन दुई दिनसम्म चलेको थियो ।

पत्रकारिता सूचना प्रवाहको माध्यमसंगै मातृभाषा संरक्षणको सशक्त औजार बन्न सक्ने सम्मेलनले निष्कर्ष निकालेको सम्मेलनका सहभागी नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले बताए ।

सम्मेलनमा पत्रकारिता मातृभाषा जोगाउन दक्षिण एसियाका पत्रकारहरुबीच आपसी ज्ञान, सीप र अनुभव आदानप्रदानलाई केन्द्रबिन्दुमा राखिएको पनि अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

मातृभाषा लोपोन्मुख बन्दै गएको वर्तमान सन्दर्भमा पत्रकारिताले भाषा–संस्कृति जोगाउन महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएको सम्मेलनमा सहभागी अर्का पत्रकार राजु नापितले बताए ।

नेपाली पत्रकारहरुको टोलीसंगै नेवाः पत्रकार राष्ट्रिय दबूले मातृभाषा पत्रकारिता सम्मेलनमा सहभागी भएको यो दोस्रो पटक हो ।

सम्मेलनमा मौरिससका पूर्व उपप्रधानमन्त्री हरिश बुद्धुकी धर्मपत्नी तथा अन्तर्राष्ट्रिय संस्कृति संवाहिका डा.सरिता बुद्धु , नेपालबाट सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, तथा थाइल्याण्डका प्रतिनिधि डा.पी. सी. चन्द्रा लगायत विदेशबाट करिब तीन दर्जन व्यक्तिहरुको सहभागीता रहेको थियो ।

बिहारमा भएको चौथो अन्तर्राष्ट्रिय सम्मेलन रहेको सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष तथा मानवअधिकार टुडेका सम्पादक शशि भूषण कुमारले बताए ।

सम्मेलनमा नेपालका तर्फबाट सहभागी हुने पत्रकारहरुलाई अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता अवार्ड प्रदान गरिएको थियो ।

अवार्ड पाउने पत्रकारहरुमा नृपेन्द्रलाल श्रेष्ठ, राजु नापित, सदाब मलिक, दिपेन्द्र प्रजापति, अभिलाष गुप्ता, शैलेश गुप्ता, राजन कुमार सिंह र सुभास राम रहेका छन् ।

सम्मेलनपछि नालन्दा विश्वविद्यालयका ऐतिहासिक भग्नावशेषहरूको अवलोकन तथा भ्रमण गराइएको थियो । यस क्रममा नालन्दाको ऐतिहासिक महत्व, शैक्षिक परम्परा र प्राचीन वैभवबारे जानकारी गराइएको थियो ।

Categorized in राष्ट्रिय