arin enterprises

स्वास्थ्य मन्त्रालयको अपडेटले जन्माएको अन्यौल परिस्थिती

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ जेठ २९, बिहिबार

देशमा कोरोना संक्रमणको नियन्त्रण एवम् रोकथामका लागि लकडाउन जारी भएको आज ८०औं दिन । 

नेपालमा दोश्रो कोरोना संक्रमित देखिएपछि यहाँ जारी गरिएको लकडाउन पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा प्रेस व्रिफिङ मार्फत नेपालमा कोरोना संक्रमण सम्वन्धि विवरण अद्यावधिक गर्दै आएको छ ।

विगतमा स्वास्थ्य मन्त्रालयका तत्कालीन प्रवक्ता डा. विकास देवकोटाले प्रेस व्रिफिङमा विवरण प्रस्तुत गर्ने गर्दथे । अहिले मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा डा. जागेश्वर गौतम आएपछि यो काम उनैले गर्दै आएका छन् ।

प्रेस व्रिफिङका शुरुवाती दिनहरुमा विभिन्न त्रुटिहरु हुने गर्दा आलोचना पनि निकै हुने गर्दथ्यो । कहिले संक्रमित नै नदेखिएको जिल्लामा संक्रमित भेटिएको विवरण आउँथ्यो त कहिले एउटा जिल्लाको ठाउँलाई अर्को जिल्लाको भनी विवरण प्रस्तुत गरिन्थ्यो ।

यस्ता विभिन्न खालका त्रुटि र मन्त्रालयले दिने सूचनाले उब्जाएको अन्यौलताका बीच राष्ट्रिय सूचना आयोगले कोरोना भाइरसबाट संक्रमित र मृत्यु भएकाहरुको दुवै ठेगाना सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन नै दियो । 

मन्त्रालयले संक्रमित वा मृत्यु भएकाको स्थायी ठेगानामात्रै सार्वजनिक गर्दा अरु विवरण गोप्य रहेको र त्यसले संक्रमणको जोखिम बढाएको भन्दै आयोगले अस्थायी र स्थायी दुवै ठेगाना प्रकाशित गर्न निर्देशन दिएको थियो ।

यस्तै परिस्थितीका बीच पछिल्ला दिनहरुमा मन्त्रालयको उक्त प्रेस व्रिफिङमा निकै सुधार पनि हुँदै आएको थियो । प्रस्तुत गरिने विवरणहरुलाई सहि तरीकाले प्रस्तुत गर्न मन्त्रालयले गरेको कोसिस प्रस्तुतिमै झक्लिन्थ्यो ।

अहिले प्रवक्ता फेरीएसँगै विवरण प्रस्तुति विगतको भन्दा निकै अव्यवस्थित देखिन थालेको छ ।

डिस्चार्ज हुनेको ठेगाना नखुलाइँदा जिल्लाबाट संक्रमित थप भने हुने तर निको भएको जानकारी नपाइने स्थिती बनेको छ

डा. जागेश्वर गौतमले विवरण प्रस्तुत गर्न थालेपछि सूचनामा फेरी पनि कन्जुस्याईँ गर्न थालेको देखिन्छ ।

अहिलेको प्रस्तुतिलाई हेरेपछि स्वास्थ्य मन्त्रालयले राष्ट्रिय सूचना आयोगको निर्देशनलाई लत्याएको हो कि भन्न वाध्य भइन्छ । 

विगतमा संक्रमितको जिल्लाको साथमा जिल्लाको स्थानीय तह र अस्थायी, स्थायी ठेगाना समेत भनिन्थ्यो र उमेर पनि प्रस्तुत गरिन्थ्यो । अचेल जिल्ला मात्र भन्ने गर्दा अस्थायी वा स्थायी ठेगाना, उमेर समूह आदि विवरण दिइन्न ।

त्यसैगरी डिस्चार्ज हुनेमा पनि कुन अस्पतालबाट कति महिला वा पुरुष डिस्चार्ज भए मात्र भन्ने गरिएकोमा आज त कुल डिस्चार्ज संख्या अनि महिला र पुरुषको संख्या मात्रै भनियो । कुन अस्पतालबाट कहाँका कति, अनि कति दिनको उपचारपछि डिस्चार्ज आदि कुनै विवरण प्रस्तुत गरिएन ।

संक्रमितको जिल्ला मात्र भन्ने गरिँदा त्यसले पुरै जिल्लाभरिलाई तनावको वातावरण एकातिर छ भने डिस्चार्ज हुनेको ठेगाना नखुलाइँदा जिल्लाबाट संक्रमित थप भने हुने तर निको भएको जानकारी नपाइने स्थिती बनेको छ ।

यति मात्र होइन, आजको विवरणमा त संख्यामै गडबडी देखियो । 

आज थप भएका नयाँ संक्रमितको संख्या २ सय ५० जना र तीमध्ये पुरुष २३० जना महिला २० जना भन्ने तथ्याङ्क दिइयो । 

तर जिल्लागत विवरणलाई जम्मा गरी हेर्ने हो भने आज थप संक्रमित संख्या २ सय ५२ देखिएको छ । महिलाको संख्या २० नै देखिएको छ भने पुरुषको संख्या २ सय ३० भनिएकोमा २ सय ३२ देखिएको छ ।

यहाँनेर दुई जनाको संख्यामा गडबडी देखियो । तर आजको प्रेस व्रिफिङको गडबडि यत्तिमै सिद्धिएन ।

आजको अद्यावधिक तथ्याङ्ग अनुसार कुल संक्रमित संख्या ४ हजार ६ सय १४ हो । हिजोको विवरणसँग तुलना गरी हेर्दा पनि यो संख्या सहि नै देखिन्छ ।

हिजोको कुल संक्रमित संख्या ४ हजार ३ सय ६४ थियो । त्यो अनुसार हिजोको संख्यामा २ सय ५० जोडिँदा आजको कुल संक्रमित संख्या ४ हजार ६ सय १४ हुनुपर्ने हो र यहि विवरण दिइएको पनि हो ।

अब प्रश्न यो उठ्छ कि नेपालको कुल संक्रमित संख्या ४ हजार ६ सय १४ हो कि ४ हजार ६ सय २२ ?

तर आज प्रदेशगत विवरण अनुसार सात प्रदेशका संक्रमितहरुको संख्याको योगफल हेर्ने हो भने ४ हजार ६ सय २२ हुन आउँछ । 

आज थप भएका नयाँ संक्रमितको विवरण प्रस्तुति पछि कुल संक्रमित संख्या ४ हजार ६ सय १४ बोलेका डा. गौतमले प्रदेशगत विवरण पछि भने कुल संक्रमित संख्या ४ हजार ६ सय २२ बोले ।

पहिला त आजको कुल संक्रमित संख्यामा २ जना छुटे वा जिल्लागत विवरणमा बढि भए भन्ने प्रश्न थियो । प्रदेशगत विवरण पछि त ८ जनाको संख्यामा अन्यौलको स्थिती पैदा गरिदिएको छ ।

अब प्रश्न यो उठ्छ कि नेपालको कुल संक्रमित संख्या ४ हजार ६ सय १४ हो कि ४ हजार ६ सय २२ ?

अहिलेको विषम परिस्थितीमा स्वास्थ्य मन्त्रालय जस्तो जिम्मेवार अङ्गबाट यस किसिमको लापरवाही हुनु गम्भीर विषय हो ।

सहि सूचना प्रवाह गर्नुपर्ने राज्यको निकायले यसरी झन अन्यौलको स्थिती सृजना गरिनुहुन्न । सहि सूचना पाउनु जनताको अधिकार हो भने सहि सूचना दिने राज्यको जिम्मेवारी हो ।

यस किसिमका त्रुटिहरु नदोहोर्याउन र सहि सूचना सम्प्रेषणको वातावरण बनाइनु आवश्यक छ ।

Categorized in बिचार
SKIP THIS four nine