दमकमा ‘चलचित्र निर्देशन’ तालिम सुरु
SamacharDesk – विजयरत्न | २०८३ बैशाख १३, आइतबार
झापाको दमकमा ‘चलचित्र निर्देशन’ तालिम सुरु भएको छ ।
चलचित्र विकास बोर्डको सहयोगमा धिमाल चलचित्रकर्मी सङ्घले पाँच दिने तालीमको आयोजना गरेको हो ।
आउँदो बैसाख १६ गतेसम्म संचालन हुने तालिमको शनिवार कोशी प्रदेशका सांसद नम्बरलाल धिमालले उद्घाटन गरे ।
तालिममा स्थानीय धिमाल समुदायका २० जना युवा चलचित्रकर्मी सहभागी छन् । तालिमको सहजीकरण चलचित्र निर्देशक अरुण कुमार प्रधानले गरिरहेका छन् ।
मातृभाषी चलचित्रमार्फत स्थानीय भाषा, संस्कृति, मौलिक कथा र समुदायको पहिचानलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको आयोजकले जनाएको छ ।
विशेषगरी धिमाल समुदायका युवालाई चलचित्र निर्देशनको आधारभूत ज्ञान, कथा प्रस्तुति, दृश्य भाषा, कलाकार परिचालन र निर्माण प्रक्रियासम्बन्धी सीप प्रदान गर्ने लक्ष्य तालिमले लिएको छ ।
विकास बोर्डले मातृभाषी चलचित्र, स्थानीय सर्जक तथा आदिवासी जनजाति समुदायका कथा, भाषा, संस्कृति र पहिचानलाई चलचित्रमार्फत संरक्षण, प्रवर्ध्दन र विस्तार गर्न यस्ता सीपमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।
तालिमले धिमाल समुदायका युवा चलचित्रकर्मीलाई आफ्नै भाषा र संस्कृतिका कथा चलचित्रमार्फत अभिव्यक्त गर्न थप प्रेरणा दिने अपेक्षा गरिएको छ ।
Categorized in पेजथ्री




