arin enterprises

गठबन्धन दलबीच काठमाडौं तहमा तालमेलमा भएन सहमति

SamacharDesk – बिराज | २०७९ बैशाख ५, सोमबार

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा चुनावी चर्चा पनि बढ्दै गएको छ । कतै उम्मेदवारी घोषणा हुँदैछ त कतै तालमेलको कसरत हुँदैछ ।सत्तारुढ पाँच दलीय गठबन्धन निर्वाचनमा एक्लै अथवा तालमेल गरेर जाने भन्ने विषयमा विभिन्न विचारहरु बाहिर आइरहेका छन् ।

केन्द्रीय तहबाट तालमेल गरेरै निर्वाचनमा जानको लागि कसरत भइरहेको अवस्थामा तल्लो तहहरुबाट भने तालमेललाइ स्वीकार गरिएको पाइएको छैन ।

यसैबीच सत्तारुढ पाँच दलीय गठबन्धनको काठमाडौं जिल्ला स्तरीय वैठक काठमाडौंमा सम्पन्न भएको छ । वैठकमा तालमेलको विषयमा छलफल भएकोमा सहमति भने हुन सकेन ।

वैठकमा सहभागी एक नेताले जानकारी दिए अनुसार सिट बाँडफाँडको कुरो टुङ्गो लाग्न नसक्दा तालमेलको विषयमा निर्णय हुन नसकेको हो । आसन्न स्थानीय तहको निर्वाचनको साथमा आगामी संसदीय निर्वाचनमा समेत गठबन्धन अति आवश्यक भएको राय वैठकमा नेताहरुले राखेका थिए ।

संगठनको परिस्थिती र अवस्थालाई हेरी आ–आफ्नो दलको सम्वन्धित तहमा राय पेश गर्ने निर्णय भएको बताइएको छ । सहमति नजिक पुगेका दलहरुबीच मात्रै तालमेल गर्दै जाने विषयमा पनि अनौपचारिक छलफल भएको बुझिएको छ ।

वैठकमा नेपाली काँग्रेस काठमाडौं जिल्ला अध्यक्ष सबुज बानियाँ, बागमति प्रदेशका उपसभापति चन्द्र महर्जन, माओवादी केन्द्र काठमाडौं जिल्ला संयोजक उमेश स्थापित, नेकपा (एस) काठमाडौं जिल्ला अध्यक्ष कुसुम कुमार कार्की र जनता समाजवादी पार्टी काठमाडौं जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापतिको सहभागीता थियो । 

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082