ग्रानाडाविरुद्ध बार्सिलोनाको रोमान्चक जित
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ २२, बिहिबार

कोपा डेल रे फुटबल अन्तर्गत गएरातिको रोमान्चक खेलमा ग्रानाडाविरुद्ध बार्सिलोनाले जित हासिल गरेको छ । बार्सिलोनाले ग्रानाडालाई उसकै मैदान लस क्यार्मेनिजमा भएको खेलमा ५–३ ले हराएको हो ।
निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा बार्सिलोनाले खेल आफ्नो पोल्टामा पारेको हो ।
खेलमा अग्रता ग्रानाडाले लिएको थियो । ३३ औं मिनेटमा केनेडिले गोल गर्दै ग्रानाडालाई अघि बढाए । ४७ औं मिनेटमा अर्को गोल थप्दै रोबर्टो सोलडाडोले ग्रानाडाको अग्रता दोब्बर पारे ।
निर्धारित समयको खेलको अन्तिमसम्म पुग्दा खेल ग्रानाडाकै पक्षमा देखिरहेको थियो । तर बार्सिलोनाले अन्तिम समयतिरको चार मिनेटभित्र २ गोल गर्दै खेललाई बरारबरीमा ल्याए ।
बार्सिलोनालाई खेलमा फर्काउन ८८ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले र इन्जरी समयको दोश्रो मिनेटमा जोर्डि एल्बाले एकरएक गोल गरे । त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।
अतिरिक्त समयमा एन्टोनी ग्रिजम्यानले खेलमा व्यक्तिगत दोश्रो र टिमका लागि तेश्रो गोल गर्दै बार्सालाई अघि बढाए ।
एक सय ३ मिनेटमा ग्रानाडाले पेनाल्टी पायो । फेडे भिकोले पेनाल्टीको सदुपयोग गर्दै ग्रानाडालाई खेलमा फर्काए ।
एक सय ८ औं मिनेटमा फ्य्राङ्कि डे जोङ्गको गोलसँगै बार्सा फेरी अघि बढ्यो ।
एक सय १३ औं मिनेटमा गोल गर्दै बार्साका डिफेन्डर जोर्डि आल्बाले गोल थप्दै टिमको जित सुनिश्चित बनाए । मेस्सीको सटलाई ग्रानाडाले रोक्दा ग्रिजम्यानले पास दिएको बललाई जोर्डिले जाली चुम्न लगाएका थिए ।
Categorized in स्पाेर्ट्स