arin enterprises

चीनमा कोरोना भाइरसको दोस्रो लहर ?

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ४, बिहिबार

चीनमा पछिल्लो दिनहरुमा कोरोना संक्रमितको संख्या फेरी बढ्न थालेको छ ।

गत आइतबार चीनको राजधानी बेइजिङमा दुई महिनापछि पहिलोपटक ठूलो संख्यामा स्थानीय स्तरमै संक्रमित फेला परेको जनाएको थियो ।

एशियाकै ठुलो बजारको रुपमा दावी गरिएको सिङ्फाडी होलसेल बजारमा ती संक्रमितहरु भेटिएका थिए ।

बजारमा संक्रमित फेला परेपछि राजधानी बेइजिङको दक्षिणपूर्वि क्षेत्रमा रहेको सिङ्फाडी बजार शनिबार ३ बजेदेखि बन्द गरिएको छ । 

त्यस्तै उक्त क्षेत्र वरीपरीका आवसीय क्षेत्रलाई समेत प्रहरीलाई तैनाथ गरी लकडाउन गरिएको छ । 

यसअघि गत अप्रिलमा बेइजिङमा ३६ जना संक्रमित फेला परेका थिए ।

चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसमाथि गत मार्चमा चीनले विजय प्राप्त गरेको घोषणा समेत गरेको थियो ।

तर अहिले चीनमा कोरोना भाइरसको दोस्रो लहर आएको कुरा अन्तराष्ट्रिय संचारमाध्यमले भनिरहेका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा चीनमा थप ४४ जनामा कोरोना भाइरसको संक्रमित देखा परेका हुन् । 

पछिल्ला दिनहरुमा संक्रमित हुनेको संख्यामा कमी भने आएको छ । तर पनि केही ठाउँमा देखिएको नयाँ संक्रमणको कारणले यो भाइरस स्थानीय स्तरामा फेरी देखा पर्नसक्ने अनुमान गरिएको छ । 

चीनमा यस संक्रमणले पुनः महामारीको रुप लिने हो कि भन्ने चिन्ता स्थानीयमा बढेको छ ।

तर चीनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट कसैको मृत्यु भने भएको छैन । 

हालसम्म चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८३ हजार २ सय ९३ पुगेको छ । 

तीमध्ये ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ भने ७८ हजार ३ सय ९४ जना निको भएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय