arin enterprises

कोरोना संक्रमणबाट ३ महिनापछि एकको मृत्यु

SamacharDesk | २०७९ चैत्र २८, मंगलबार

झण्डै तीन महिनापछि नेपालमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको थियो । विगत केही दिनदेखि कोरोना संक्रमण बढ्दै गएको छ ।

विशेषत भारतबाट फर्केका मानिसहरुबाट संक्रमण देखिएको थियो । जसले गर्दा सीमा नाकामा कडाइ गर्नुका साथै स्वास्थ्य मन्त्रालयले सबैलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह समेत गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज ४७६ पीसीआर र १ हजार ९६० एन्टिजेन गरी कुल २ हजार ४३६ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन् ।

पीसीआरतर्फ ७४ र एन्टिजेन परीक्षणमा ३२ जनामा संक्रमण देखिएको हो । हाल सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ । हाल संस्थागत आइसोलेसनमा २४ जना, आईसीयूमा १३ जना र भेन्टिलेटरमा ५ जना रहेका छन् ।

यसअघि सोमबार १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ ।

१ हजार हाराहारीमा हुँदै आएको कोभिड परीक्षण गराउनेको संख्या पनि बढ्दै गएको देखिन्छ ।

Categorized in राष्ट्रिय