कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो
SamacharDesk – बिकाश | २०७७ आश्विन ३, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
७ महिला र ४ पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक मृत्यु हुने ११ जनामध्ये ५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।
ललितपुरमा ७६ वर्षीया र ६८ वर्षीया दुई जना महिलाको साथमा ६० वर्षका पुरुषको मृत्यु भएको छ भने काठमाडौंकी ७७ वर्षीया महिलाको साथमा ७५ वर्षीय पुरुषको पनि कोभिड संक्रमणबाटै मृत्यु भएको छ ।
त्यस्तै मोरङमा ६५ वर्षीया महिला, रौतहटमा ५१ वर्षीया महिला, सर्लाहीमा ५६ वर्षीया महिला र मकवानपुरमा ३७ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।
त्यसैगरी रुपन्देहीमा ६९ वर्षीय पुरुषको साथमा बाँकेका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या ४ सय नाघेको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय एक पुगेको छ ।
Categorized in समाज