arin enterprises

ब्राजिलका राष्ट्रपतिलाई पनि कोरोना संक्रमण

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ २४, बुधबार

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ । 

६५ वर्षीय बोलसोनारोलाई सोमबार उच्च ज्वरो आएपछि कोरोना भाइरसको परीक्षण गरिएको थियो । मंगलबार आएको रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएको हो ।

बोलसोनारोले मंगलबार टेलिभिजनमार्फत सम्वोधन गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिँदै आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको बताए । 

टेलिभिजनमा बोल्दा बोलसोनारोले मास्क फुकालेर आफ्नो स्वास्थ्य अवस्था एकदम ठीक रहेको बताए । साथै आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुको साथै आलोचना गर्नेहरुलाई पनि उनले धन्यवाद दिए ।

‘मेरो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद । मेरो आलोचना गर्नेलाई पनि धन्यवाद’, उनले भने, ‘मलाई केही आपत्ति छैन । तपाईंले चाहे जति आलोचना गर्नुहोस् ।’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बोलसोनारो ब्राजिलको राजधानी ब्राजेलियामा अमेरिकी राजदूत टोड च्यापम्यानको निवासमा लन्चमासहभागी भएका थिए । त्यसको तीन दिनपछि उनमा कोरोना पोजिटिभ देखिएको हो । 

बोलसोनारोसँगै उक्त लन्च कार्यक्रममा ब्राजिलियन मन्त्रिपरिषद्का केही सदस्य र उच्च अधिकारी पनि सहभागी भएको भनिएको छ ।

बोलसोनारोले कोरोना भाईरसलाई पटक–पटक सामान्य ज्वरोको रुपमा व्याख्या गर्दै भाइरसबाट डराउनु नपर्ने बताउँदै आएका थिए । 

त्यस्तै उनले सामाजिक दूरी राख्नुपर्ने चिकित्सकको सल्लाहलाई पनि धेरै पटक मजाकमा उडाएका छन् ।

उनले राजनीतिक सभा सम्मेलनमा सहभागी हुँदा समेत मास्क नलगाउने गर्थे । 

यस विषयमा उनको ठुलै आलोचना पनि भइरहेको छ ।

ब्राजिलमा गत मार्चमा पहिलो पटक संक्रमण देखिएको थियो । त्यसपछि भने दैनिक रुपमै संक्रमण बढ्दो क्रममा रहेको छ । 

ब्राजिल कोरोना संक्रमणबाट सबैभन्दा बढि प्रभावित मूलुक अमेरीकापछि दोश्रो स्थानमा रहेको छ ।

ब्राजिलमा हालसम्म १६ लाख ७४ हजार ६ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६६ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ भने ११ लाख १७ हजार ९ सय २२ जना निको भएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय