arin enterprises

जोकोभिचलाई कोरोना भाइरसको संक्रमण

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ९, मंगलबार

विश्व वरियतामा पहिलो नम्बरका टेनिस खेलाडी नोभाक जोकोभिचलाई कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । सर्बियाली खेलाडी जोकोभिचले मंगलबार भाइरस परिक्षणको नतिजा पोभिटिभ आएको पुष्टि गरेका छन् । 

उनकै अगुवाईमा गत साता एड्रिया टुर टेनिस प्रतियोगितामा सहभागी दुई जना खेलाडीमा कोरोना पोजेटिभ देखिएपछि परिक्षण गराउँदा उनमा पनि कोरोना संक्रमण देखिएको हो ।

बेलग्रेडमा भएको प्रतियोगीता अन्तर्गत ३३ वर्षीय जोकोविच दोस्रो लेगका लागि गत साता क्रोएसियाको जादर पुगेका थिए । 

त्यहाँ एक खेलाडीलाई कोरोना संक्रमण देखिएपछि प्रतियोगिता स्थगित भएपछि जोकोभिच क्रोएसियावाट सर्वियाको बेलगे्रड फर्केका थिए ।

बेलगे्रडमा परिक्षण गराउँदा जोकोभिचसहित उनको पत्नीमा समेत कोरोना भाइरसको संक्रमण देखिएको थियो । तर उनका बच्चाहरुको परिक्षणको नतिजा भने नेगेटिभ आएको छ ।

कोरोना महामारीका कारण गत फेब्रअरीदेखि टेनिसको आधिकारिक प्रतियोगिता एटिपी टुर नभएकोले जोकोभिचले एड्रिया टुर खेलेका थिए । यो एटिपी टुरको कार्यक्रम भने होइन  ।

जोकोभिच अघि त्यस प्रतियोगितामा खेलेका बोर्न कोरिच, ग्रिगर डिमिट्रिभ र भिक्टोर ट्रोइकीलाई पनि कोराना भाइरस संक्रमण पुष्टि भइसकेको छ ।

जोकोभिचले कोरोनाभाइरस महामारीको बीचमा प्रतियोगिता आयोजना गरेकोमा र अन्य देशका खेलाडीहरू समेत ल्याएकोमा उनको धेरैले आलोचना गरीरहेका छन् ।

Categorized in स्पाेर्ट्स