आज पनि ५ हजार १८१ नमूना मात्रको परिक्षण
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २८, आइतबार

चाडबाडसँगै घटेको स्वाब नमूनाको परिक्षणको संख्या अझै बढेको छैन । दैनिक २४ हजार परिक्षण क्षमताको दावी गर्ने नेपाल सरकारले पछिल्लो समय ५ हजारको हाराहारीमा मात्र परिक्षण गर्दै आएको छ ।
आज पनि मात्र ५ हजार एक सय ८१ स्वाब नमूनाको परिक्षण भएको छ । योसँगै अहिलेसम्ममा कुल १८ लाख ३१ हजार ४१ नमूनाको आरटि पिसिआर भएको छ ।
पछिल्लो २४ घन्टाको तथ्याङ्क
नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ३० जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ३ सय ३० जना छन् भने पुरुषको संख्या ५ सय जना रहेको छ ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ४८ हजार ४ सय २३ पुगेको छ ।
पछिल्लो पटक एक हजार ५ सय जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ६ सय ९८ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ५ सय १६ जना रहेको छ ।
सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ९४ जना रहेका छन् । तीमध्ये ६ हजार २ सय ३२ जना होम आइसोलेसनमा छन् भने ४ हजार ७ सय ६२ जना संस्थागत आइसोलेसनमा छन् ।
२ सय ९४ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ५२ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ३९, प्रदेश २ मा ७, वागमती प्रदेशमा एक सय ७, गण्डकी प्रदेशमा ८३, लुम्बिनी प्रदेशमा ४६, कर्णाली प्रदेशमा ५ र सुदुरपश्चिम प्रदेशमा ७ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा १०, वागमती प्रदेशमा २४, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेश ३ र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ५२ जना भेन्टिलेटरमा छन् ।
हाल मनाङ जिल्ला मात्रै संक्रमण शुन्य रहेको छ । काठमाडौं, ललितपुर र कास्कीमा ५ सयभन्दा बढि सक्रिय संक्रमितहरु रहेका छन् ।
Categorized in राष्ट्रिय