परिक्षण घटदै गएकोमा स्वास्थ्यविद्हरु चिन्तित
SamacharDesk – बिराज | २०७७ पौष १२, आइतबार

स्वास्थ्यविद्हरुले नेपालमा स्वाब नमूनाको परिक्षण घटेकोमा चिन्ता पोखिरहँदा सरकारले भने परिक्षण बढाउनुको साटो झन घटाउँदै लगेको छ ।
विश्वमा कोरोनाभाईरसको नयाँ प्रकार देखिरहेको अवस्थामा नेपालमा परिक्षणलाई बढाउँदै नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने स्वास्थ्यविद्हरुले भन्दै आएका छन् । तर परिक्षणको संख्या भने दिनहुँ झन घट्दो अवस्थामा छ ।
पछिल्ला दिनहरुमा दिनको ५ हजारदेखि ७ हजार नमूनाको परिक्षण हुने गरेकोमा आज त ३ हजार ८ सय २८ वटामात्र नमूनाहरुको परिक्षण भएको छ । परिक्षणको १२ दशमलव ५६ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो परिक्षणमा एक सय ७९ महिला र ३ सय २ जना पुरुष गरी ४ सय ८१ जनामा संक्रमण देखिएको हो ।
तीमध्ये ८३ महिला र एक सय २५ पुरुष गरी २ सय ८ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंबाट एक सय ७५, ललितपुरबाट २७ र भक्तपुरबाट ६ जना नयाँ संक्रमित थप भएका छन् ।
नेपालमा अहिलेसम्म कोरोनाभाईरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या २ लाख ५८ हजार एक सय ८१ पुगेको छ ।
त्यस्तै ७ सय ३१ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ४९ हजार ८ सय ६३ जना यस संक्रमणबाट मुक्त हुन सफल भएका छन् ।
मृत्यु हुनेको संख्या भने एक हजार ८ सय २५ पुगेको छ । पछिल्लो पटक थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
क्वारेन्टीनमा रहनेको संख्या ३ सय ६९ रहेको छ । ६ हजार ४ सय ९३ जना सक्रिय संक्रमितमध्ये ३ हजार ७७ होम आइसोलेसनमा छन् भने ३ हजार ४ सय १६ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
२ सय ३५ जना आइसीयूमा छन् भने ५३ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
मुगु र रुकुमपश्चिम संक्रमण शुन्य छ भने ५ सयभन्दा बढि संक्रमित रहेको जिल्लामा काठमाडौं मात्रै रहेको छ ।
Categorized in राष्ट्रिय