arin enterprises

संक्रमण शुन्य जिल्ला संख्या ५ पुग्यो

SamacharDesk – बिकाश | २०७७ पौष १३, सोमबार

नेपालमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण शुन्य भएको जिल्लाको संख्या ५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अद्यावधिक गरेको तथ्याङ्क अनुसार अहिले नेपालमा प्रदेश २ मा ३ र कर्णालीमा २ गरी ५ वटा जिल्ला संक्रमण शुन्य रहेको छ । प्रदेश २ मा महोत्तरी, सर्लाही र सिराहा संक्रमण शुन्य छ भने कर्णाली प्रदेशको मुगु र रुकुमपश्चिम पनि संक्रमण शुन्य रहेको छ ।

आजको दिनमा ५ सयभन्दा बढि संक्रमित रहेको जिल्ला काठमाडौंमात्रै रहेको छ ।

सक्रिय संक्रमित संख्या घट्दै गएको र संक्रमण शुन्य रहेको जिल्लाको संख्या बढ्दै गर्दा जनस्वास्थ्यविद्हरु भने परिक्षण घटेकोमा चिन्तित छन् । पिसिआर परिक्षणको संख्या घट्दै गर्दा समुदायमा संक्रमणको विष्फोट हुनसक्ने जनस्वास्थ्यविद्हरुले भन्दै आएका छन् ।

नेपालमा पछिल्लो २४ घन्टामा गरिएको परिक्षणमा भने ६ सय ५९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टी भएको छ । जम्मा ५ हजार ५ सय ७८ वटा स्वाब नमूना परिक्षण गरिएकोमा २ सय ५२ महिलार ४ सय ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

तीमध्ये एक सय ११ महिला र एक सय ६७ पुरुष गरी २ सय ७८ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । आज थप हुने नयाँ संक्रमितमध्ये २ सय ७ जना काठमाडौंबाट, ललितपुरबाट ४९ र भक्तपुरबाट २२ जना रहेका छन् ।

हालसम्म १९ लाख १५ हजार २ सय ३२ वटा स्वाब नमूनाको आरटी पिसिआर परिक्षण भइसकेको छ ।

पछिल्लो पटक ७ सय १८ जना संक्रमित निको भएका छन् । अहिलेसम्म २ लाख ५० हजार ५ सय ८१ जना संक्रमित निको भएका छन् ।

थप ७ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ८ सय ३२ पुगेको छ ।

क्वारेन्टीनमा ३ सय ६९ जना छन् भने सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय २७ रहेको छ । ३ हजार २२ जना हाम आइसोलेसनमा र ३ हजार ४ सय ५ जना संस्थागत आइसोलेसनमा छन् । २ सय ५४ जना संक्रमित आइसीयूमा र ४० जना भेन्टिलेटरमा राखेर उपचाररत छन् ।

Categorized in राष्ट्रिय