arin enterprises

नेपालमा कोरोना निको हुनेको दर ९७ प्रतिशतको नजिक

SamacharDesk – बिकाश | २०७७ पौष १४, मंगलबार

नेपालमा कोरोना संक्रमण निको हुनेको दर ९७ प्रतिशतको नजिक पुगेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अद्यावधिक गरेको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण निको हुनेको दर ९६ दशमलव ८ प्रतिशत रहेको छ ।

आजसम्ममा २ लाख ५९ हजार ५ सय ४८ जनालाई कोरोना संक्रमण भइसकेकोमा २ लाख ५१ हजार ३ सय १२ जनाले भाइरसलाई जितीसके ।

पछिल्लो पटक ७ सय ३१ जना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का ७ सय ८ जना नयाँ संक्रमित थप भएका छन् । ६ हजार एक सय ३५ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा २ सय ७० जना महिला र ४ सय ३८ जना पुरूषमा संक्रमण पुष्टी भएको हो ।

तीमध्ये एक सय ५६ महिला र २ सय ४२ पुरुष गरी ३ सय ९८ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा ३ सय २४ जनामा संक्रमण पुष्टी भएको छ भने ललितपुरमा ५२ र भक्तपुरमा २२ जना संक्रमित थप भएका छन् ।

हालसम्म १९ लाख २१ हजार ३ सय ६७ वटा स्वाब नमूनाको आरटीपिसिआर परिक्षण भइसकेको छ ।

थप ८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ८ सय ४० पुगेको छ ।

३ सय ६५ जना क्वारेन्टीनमा रहेका छन् भने ६ हजार ३ सय ९३ जना सक्रिय संक्रमित उपचाररत छन् । २ हजार ९ सय ५८ संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार ४ सय ३५ जना संस्थागत आइसोलेसनमा छन् ।

महोत्तरी, सर्लाही, सिराहा, मुगु र रुकुमपश्चिम गरी ५ वटा जिल्ला संक्रमण शुन्य रहेको छ भने ५ सयभन्दा बढि सक्रिय संक्रमित काठमाडौंमा मात्रै रहेको छ ।

Categorized in राष्ट्रिय