arin enterprises

परिक्षणको १० प्रतिशतभन्दा कममा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७७ पौष १७, शुक्रबार

नेपालमा पछिल्लो २४ घन्टामा गरिएको स्वाब नमूनाको परिक्षणबाट ८ दशमलव १५ प्रतिशतमा मात्र संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक गरिएको ५ हजार २ सय २५ वटा स्वाब नमूनाको परिक्षणमा एक सय ५३ महिला र २ सय ७३ पुरुष गरी जम्मा ४ सय २६ जनामा संक्रमण देखिएको हो ।

तीमध्ये ७२ महिला र ९५ पुरुष गरी एक सय ६७ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो पटक भेटिएका नयाँ संक्रमितमध्ये एक सय ३४ जना काठमाडौंबाट, ललितपुरबाट १८ र भक्तपुरबाट १५ जना रहेका छन् ।

हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । अहिलेसम्म गरिएको आरटि पिसिआर परिक्षणको कुल संख्या १९ लाख ३७ हजार ७ सय २ पुगेको छ ।

पछिल्लो पटक संक्रमण निको हुनेको संख्या भने ७ सय ४८ रहेको छ । हालसम्म २ लाख ५३ हजार एक सय ७ जना संक्रमितले कोरोनाभाईरसलाई जितेका छन् ।

पछिल्लो २४ घन्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक हजार ८ सय ६४ पुगेको छ ।

६ हजार ४८ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये २ हजार ८ सय ९० होम आइसोलेसनमा छन् भने ३ हजार एक सय ५८ जना संस्थागत आइसोलेसनमा छन् ।

५ सयभन्दा बढि सक्रिय संक्रमित रहेको जिल्ला काठमाडौंमात्रै छ भने मुगु र महोत्तरी जिल्लामा संक्रमितको संख्या शुन्य रहेको छ ।

Categorized in राष्ट्रिय