arin enterprises

संक्रमण निको हुनेको दर ८८ प्रतिशत बढि

SamacharDesk – बिकाश | २०७८ आषाढ १, मंगलबार

नेपालमा कोभिड १९ थप २ हजार ७४५ जना नयाँ संक्रमित थप भएका छन् ।

जम्मा १३ हजार २९० जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २० दशमलव ६५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।

७ हजार ४४९ जनाको आरटी पिसिआर परिक्षणमा एक हजार ६८१ र ५ हजार ८४१ एन्टिजेन परिक्षणमा एक हजार ६४ जनामा संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितमध्ये ५१ जना १० वर्षसम्मका बालबालिकाहरु छन् भने १५६ जना ११ देखि २० वर्ष उमेर समूहका छन् । हालसम्म नेपालमा ६ लाख ३४ हजार ६०५ जनालाई कोभिड संक्रमण भइसकेको छ ।

तीमध्ये ८८ प्रतिशत बढि निको भइसकेका छन् । हालसम्म ५ लाख ४० हजार ४३९ जना संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार १८७ जना संक्रमित निको हुँदै डिस्चार्ज भएका छन् ।

नेपालमा कोभिड संक्रमण निको हुनेको दर ८८ दशमलव ३ प्रतिशत रहेको छ । हाल ६३ हजार २५७ जना सक्रिय संक्रमित उपचाररत छन् ।

५८ हजार ८६८ जना संक्रमित होम आइसोलेसनमा छन् भने ४ हजार ३८९ जना विभिन्न संस्थागत आइसोलेसनमा छन् । आइसीयूमा रहेका ९६७ जनामध्ये २८५ जनालाई भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो पटक थप ४१ जना संक्रमितको मृत्यु भएको छ ।

यद्यपि पछिल्लो पटक थप हुने मृतकको संख्या एकै दिनको नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको संख्यालाई समेत समायोजन गर्दै आजको तथ्याङ्कमा मन्त्रालयले मृतक संख्यामा ४१ जना थप गरेको हो । हालसम्म नेपालमा ८ हजार ५०६ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भइसकेको छ । 

Categorized in राष्ट्रिय